विद्यालयलक्षित लागुऔषध दुर्व्यसनविरुद्ध अभियान

काठमाडौं । मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले विद्यालय लक्षित लागुऔषध दुर्व्यसनविरुद्ध अभियानअन्तर्गत काठमाडौंको वज्र इन्टरनेसनल कलेजबाट अभियानको थालनी गरेको छ ।
गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसे मुख्य अतिथि रहेको कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीमाझ लागुऔषध दुर्व्यसनबाट व्यहोर्नुपर्ने क्षतिबारे चर्चा गरिएको थियो । किन र कसरी युवाहरु लागुऔषध/पदार्थको दुर्व्यसनको सिकार हुने गर्छन् भन्ने विषयमा यसका भुक्तभोगीको अनुभवदेखि विज्ञहरुको सुझावसम्म कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका पूर्वउपमेयर शान्ति नेपाल, ओशोधाराका प्रमुख आचार्य महेन्द्र भट्टराई, शान्ति समाजका पूर्वसभापति उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिका ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ, समाजसेवी मन्दिर तिमल्सिना, वज्र कलेजका निर्देशक रत्नमान आँसु, शान्ति समाजका महासचिव रामकृष्ण बराल, लागुऔषध दुर्व्यसनबाट मुक्त भएका जयराम दंगाल तथा शान्ति समाज काठमाडौं शाखाका सचिव प्रमोद फुँयालले सम्बन्धित विषयमा आफ्ना धारणा राखेका थिए ।
शान्ति समाज काठमाडौं शाखाका पूर्वसभापति ईश्वर पुडासैनीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व काठमाडौं शाखाका सभापति भगवान पुडासैनीले गरेका थिए ।


प्रतिक्रिया