शनिबार, जेठ ५, २०८१

नागरिक लगानी काेषको कार्यक्रममा सहभागी हुनेको ब्याजदर बढ्यो

नेपालखोज २०७९ असार २८ गते १४:०७

काठमाडौं । नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ । २०७९ साउन १ देखि लागु हुनेगरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ ।

यसअघि कोषले यसै कार्यक्रमका तीन लाखभन्दा बढी सहभागीलाई २०७७ असारको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो ।त्यसैगरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बिमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिनेछ ।

उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीको कोषमा रहेको खातामा कोषको साधारणसभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको छ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ ।

यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैयाँ र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैयाँ गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउँछ ।

प्रतिक्रिया