‘अब नेपाललाई असफल मुलुक भनेर घोषणा गर्नमात्रै बाँकी छ’

नेपालखोज २०७९ असार २९ गते १८:१५

काठमाडौं । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले मात्रै नभएर मुलुकको एउटा जिम्मेवार नागरिकको हैसियतबाट हेर्दा यो सरकार चर्चा गर्नलायक नै छैन् । एक वर्षको बीचमा यो सरकारले गरेको एउटापनि राम्रो काम भेटिँदैन् । जताततै बेथिति र बेथितिमात्रै छ । भ्रष्टाचार अनि भ्रष्टाचारमात्रै छ । कमिशनै कमिशन छ । लुटपाट, हत्या, बलात्कारजस्ता गतिविधिबाट जनता आक्रान्त बनेका छन् । यो सरकार जति दिन रहन्छ, राष्ट्र र जनताको निम्ति बोझ बन्ने कुरा स्पष्ट रुपमा देखिएको छ ।’

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार राष्ट्रियताको हिसाबले पनि असफल भएको दाबी गरिन् । उनले भनिन्, ‘यो सरकारको बारेमा राष्ट्रियताको हिसाबले हामीले समीक्षा गर्दा एमसीसी हुँदै एसपीपीसम्म आइपुग्दा यो सरकार राष्ट्रवादी रहेन । सरकार राष्ट्रको हितमा काम गर्दैन् भन्ने कुरा हामीले प्रष्ट रुपमा देखेका छौं । ठूलो कुरबानीका साथ हामीले राष्ट्रिय सहमति कायम गरेर मुलुकको अद्यावधिक नक्शा जारी गर्यौं, नक्शा जारी गरिरहँदा आज त्यो भेगमा भारतीय पक्षबाट एकपक्षीय संरचना निर्माण भैरहँदा नेपाल सरकार त्यसलाई खबरदारी गर्न सक्दैन् । त्यो रोक्न सक्दैन् । सरकार आफ्नो राष्ट्रको पक्षमा एक शब्द पनि बोल्न सक्दैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अर्थतन्त्रको हिसाबले पनि मुलुक पूरै असफल भएको आरोप लगाईन् । उनले भनिन्, ‘अर्थतन्त्रका सूचकहरु सबै धराशयी बने । सबै ऋणात्मक अवस्थामा छन् । अब यो मुलुकलाई असफल मुलुक भनेर घोषणा गर्नमात्रै बाँकी छ । केही समय यस्तै रह्यो भने आज जे श्रीलंकाले भोगिरहेको छ, भोलि नेपालले भोग्न सक्दैन भन्ने कुराको कुनै ग्यारेन्टी छैन् । हामी त्यही पथतिर अगाडि बढिरहेका त होईनौं ? भन्नेखालको स्थिति देखिएको छ ।’

अर्यालले सेवाको हिसाबले कुरा गर्दा पनि अहिले जनताको जीवन चौपट र कष्टकर बनिरहेको आरोप लगाइन् । उनले भनिन्, ‘महँगीले आकाश छोएको छ । महिनामा चार–चार पटकसम्म ठूलो संख्यामा मूल्यवृद्धि भएको छ । त्यसैले मलको सिजनमा मल छैन्, पढ्ने बेलामा विद्यार्थीको हातमा पुस्तक छैन् । हत्या, आतंक बढिरहेको छ। जनताको सेवाको हिसाबलेपनि सेवाप्रवाह ठीक ढंगले यो सरकारले दिनै सकेको छैन् ।’

उनले वर्तमान पाँच दलीय गठबन्धनलाई स्वार्थको मिलनमात्रै भएको आरोप लगाइन् । उनले थपिन् ‘राजनीतिक हिसाबले यो गठबन्धन स्वार्थको मिलन हो । राष्ट्र र जनताको हितको निम्ति यो गठबन्धन बनेको होईन् । यो गठबन्धन स्वार्थको गठबन्धन हो भन्ने कुरा छर्लङ भएको छ । यो अपवित्र गठबन्धन हो । यो कुरा प्रमाणित भैसकेको छ । किनकी राष्ट्रिय जिम्मेवारी र जनताको जवाफदेहीबाट सरकार अलग छ । सरकार लुट्न व्यस्त छ । सरकार जहाँ पैसा पाईन्छ, त्यही काममा व्यस्त छ । यो अपवित्र गठबन्धन जसरी गठबन्धन टिकाउन सकिन्छ, त्यही काममा मात्रै सरकार व्यस्त छ । मुलुक जेसुकै होस, जनता जतासुकै होउन, यो सरकारलाई केही मतलब छैन् ।’

उनले सुशासनको हिसाबले पनि सरकार असफल भएको दाबी गरिन् । उनले सरकारले अहिले नाङ्गै लुटतन्त्र मच्चाएको गम्भीर आरोप लगाईन् । उनले भनिन्–‘यतिसारो लुट, यतिसारो आर्थिक हिसाबको कामबाहेक अन्त यसको ध्यान गएको छैन् । बजेट निर्माणको सिलसिला हेर्दापनि त्यहाँपनि लुटिएको छ । सरुवा हेरौं, सबै ठाउँमा बाँकी नराखिकन लुट्ने काम भएको छ । विकासका योजना काटिएको छ । जम्मै लुट्ने ठाउँमा पैसा हालिएको छ । जे गर्दा पैसा लुट्न सकिन्छ, त्यहीमा मात्रै यो सरकारको ध्यान छ । राष्ट्र र जनताप्रति यो सरकारको कुनै जिम्मेवारीपन छैन् । ध्यान छैन् । त्यसैले यो सरकार असफल हो । नालायक सरकार हो । यो सरकार चर्चा गर्न कुनै मानेमा लायक छैन् । यो त ईतिहासको अयोग्य र असफल सरकार हो । बरु यसले कमजोर र असफलको हिसाबले एउटा किर्तीमान कायम गरेको छ । असफलताको किर्तीमान कायम गरेको छ ।’

उनले मुलुक अहिले पूरै अँध्यारो सुरुङभित्र गैरहेको पनि टिप्पणी गरिन् । उनले भनिन्, ‘अब धेरै ढिला भैरहेको छ । मुलुकलाई ठीक ट्रयाकमा हिडाउनको लागि । यो गठबन्धनको सरकार जति दिन रहन्छ, त्यति नै राष्ट्र संकटमा रहन्छ । यो राष्ट्रको अफापसिद्ध गठबन्धन, जनताको निम्ति बोझ थप्ने गठबन्धन हो । यो गठबन्धनको विकल्प खोज्ने बेला भएको छ । यस्तै हो भने जनता विद्रोह गरेर सडकमा निस्किने परिस्थिति बन्छ। प्रमुख प्रतिपक्षी दलको हैसियतमा हामीले संसदमा सरकारबाट भएका नराम्रा कामको बारेमा विरोध गरेका छौं । सही दिशामा लैजानको लागि हामीले ध्यानाकार्षण गराएका छौं । सरकारको गलत चिजको भण्डाफोर गरेका छौं । त्यही संसद् हो, एमाले हो । जसले संसद्बाट मूल्यवृद्धि चर्को बढ्यो, हामीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्यो । मल र खाद्य उपलब्ध गराउनको लागि प्रस्ताव दर्ता गराएका थियौं । किसानको हितमा पनि आवाज उठायौं । जति गरेपनि सरकार सुन्दैन् । सरकार संवेदनशील छैन् ।’

उनले अब विलम्ब नगरिकन गठबन्धनको विकल्प खोज्ने बेला भएको पनि सुनाईन् । उनले भनिन्,‘एमालेले सदनबाट आवाज उठाईरहेको छ । संघर्ष गरिरहेको छ । त्यहाँबाट सुनवाई भएन भने अब एमालेले सडक तताउँनेछ । सडकबाट आन्दोलन गरेर गठबन्धनको विकल्प खोज्नेछ । एमालेले राष्ट्रिय सरकार गठनको लागि पहल गर्नेछ । किनकी यो सरकार चुनाव गर्नको लागि पनि लायक छैन् । योग्य छैन् । सक्षम छैन् । यसले चुनाव गर्न सक्दैन् । चुनावलाई चुनावजस्तो बनाउने र निश्पक्ष बनाउनको लागि पनि राष्ट्रिय सरकारले मात्रै यो चुनाव गराउनुपर्छ ।’ राष्ट्रिय सहमतिको सरकारबेगर अब मुलुक अगाडि जान नसक्ने उनको दाबी छ । उनले भनिन्, ‘मुलुक फेरि अप्ठ्यारोमा परिसक्यो । त्यसैले आजको आवश्यकत्ता यो गठबन्धनका विकल्प राष्ट्रिय सहमतिको सरकार हो । राष्ट्रिय सहमतिको सरकारबाट मात्रै मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो कुरा हो ।’

प्रतिक्रिया