‘अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्या सूक्ष्म तरिकाले बुझ्न आवश्यक छ’

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई मसिनो ढंगले केलाउन आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा शुक्रबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा उनले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका थुप्रै समस्या भएकाले उनीहरूका समस्यालाई सूक्ष्म तरिकाले बुझ्न आवश्यक भएको बताएका हुन् ।
बैठकमा उनले श्रम सबैसँग सम्बन्धित विषय भएकाले श्रमिकका समस्यालाई राम्रोसँग बुझ्ने र ती समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला निकायले पहल गर्नुपर्नेमा जोड दिए । ‘श्रम सबैले गर्छन् । कसैले ढुंगा, माटो नछोई आरामको श्रम गर्छन् भने कसैले ढुंगा माटोमा लडिबुडी गरेर पनि कडा श्रम गर्छन् । तिनै कडा श्रम गर्नेलाई महत्त्व दिइएन,’ उनले भने, ‘जसले अनौपचारिक क्षेत्रमा कडा श्रम गरिरहेका छन्, उहाँहरूको श्रमको मूल्यांकन गरिनुपर्छ । उनीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याएर न्याय दिने काम गर्नतर्फ सबैको ध्यान जान आवश्यक छ ।’
मन्त्री कुँवरले यस वर्षको वार्षिक कार्यक्रममा श्रम प्रतिष्ठान र श्रम आयोगको कुरा उठेकाले यो विषयलाई पनि छलफलमा ल्याउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । अन्य आयोगजस्तै श्रम आयोगको पनि आवश्कता औंल्याउँदै उनले यो विषयमा पनि छलफल गर्नुपर्ने बताए ।
साथै उनले श्रमिकको हक–अधिकार सुनिश्चिततका लागि बनाएका ऐन, नियम र कानुनलाई पनि समयअनुकूल परिमार्जन गर्दै लानुपर्नेमा जोड दिए । त्यस्तै उनले वैदेशिक रोजगारमा थुप्रै समस्या भएकाले स्वदेशमै रोजगारी प्रवर्द्धन गर्ने विषयमा पटक–पटक सम्बन्धित निकायसँग छलफल भइरहेको बताए । अहिले अनौपचारिक क्षेत्रमा थुप्रै कामदार रहेकाले उनीहरूका समस्यालाई समाधान गरी रोजगारी प्रवर्द्धनमा सहयोग पुग्ने गरी काम गर्ने बताए ।
केन्द्रीय श्रम सल्लाहकार परिषद्ले नेपाल सरकारलाई श्रमसम्बन्धीका विषयमा परामर्श तथा श्रम क्षेत्रका विविध विषयहरूमा निर्णय गर्ने काम गर्दै आइरहेको परिषद्का सदस्यसचिव एवं श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका सचिव दीपक काल्लेले जानकारी दिए । परिषदमा श्रम मन्त्री अध्यक्ष, विभिन्न मन्त्रालयका ६ जना सचिव, रोजगारदाता ५ जना, ट्रेड युनियनबाट ५ र अन्य सरोकारवाला निकायगरी २१ जना सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया