शुक्रबार, वैशाख १२, २०८२

नोट धुल्याउन अब ९० दिनको सीसीटीभी कभरेज अनिवार्य

नेपालखोज २०७९ साउन २ गते १६:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट धुल्याउने नियमावली २०७८ जारी गरेकोे छ । राष्ट्र बैंकका अनुसार यो नियमावलीअन्तर्गत अबदेखि चलन चल्तीका लागि अयोग्य भएका झुत्रा, च्यातिएका नोट धुल्याउँदा ९० दिनको सीसीटीभी फुटेज राख्नुपर्ने भएको छ ।

यसैगरी झुत्रा नोट धुल्याउने मेसिन वा फर्नेस रहेको स्थानको भिडियो फुटेज पनि प्रस्ट रूपमा देखिने गरी ९० दिनको भिडियो फुुटेज राख्नुपर्नेछ ।

नोटको थान गन्ती गरी लगत खडा गरी राख्नुपर्ने नियमावलीमा उल्लेख छ । रोडिङ तथा ब्रिकेटिङ गर्ने प्रयोजनका लागि छुट्याइएका पाँच सय र एक हजार दरका नोट शतप्रतिशत पुनः गन्ती गरी मात्रै धुल्याउनुपर्ने र नोट धुल्याउन छुट्टै समिति गठन गर्नुपर्ने नियमावलीमा उल्लेख छ । उक्त नियमावलीअनुसार समितिमा रहेका पदाधिकारीको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नुपर्नेछ ।

नोट धुल्याउनु अघि समितिको रोहबरमा पाँच सय र एक हजार दरका नोटबाहेक अन्य दरका नोटको प्रत्येक बन्डलको शतप्रतिशत प्याकेट गन्ती गरी ती बन्डलमध्ये नमुना छनोट (र्यान्डम स्याम्प्लिङ) गरी कम्तीमा पाँच प्रतिशत बन्डल छुट्याएर राख्नुपर्ने पनि नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया