मन्त्री हेरफेरका कारण विधेयक पास गर्नै सकिएन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको बताएका छन् । उनले यसैका कारण विधेयक पास गर्न ढिलाइ भएको दाबीसमेत गरेका छन् । पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले संसद् विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको बताएका हुन् ।
संसद्का गतिविधिलाई लिएर सभामुख सापकोटाले सोमबार गरेको पत्रकार सम्मेलनमा केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही प्रक्रियामै रहेको बताए । ‘यो बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन्,’ उनले भने, ‘मेरो योग्यताको परख गर्ने वातावरण बनेको थिएन ।’ सभामुख सापकोटाले नागरिकतालगायत विधेयक पारित गर्ने क्रममा रहेको पनि बताए ।
‘यसबीचमा मन्त्री हेरफेरले १/२ विधेयक पास भइसक्थे तर हुन सकेन,’ पत्रकार सम्मेलनमा उनले भने । सत्ता गठबन्धनका एकीकृत समाजवादी र जनता समाजवादीले आ-आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्री हेरफेर गरेको थियो । जसका कारण सदनमा सम्बन्धित मन्त्रालयबाट सदनमा पुगेका विधेयक अगाडि बढ्न सकेका थिएनन् । सभामुख सापकोटाले उपसभामुख निर्वाचित भएपछि काम गर्न थप सहज हुने बताए । उपसभामुखमा पुष्पा भुसालले आइतबार मात्रै पदभार सम्हालेकी थिइन् ।








प्रतिक्रिया