शनिबार, जेठ ५, २०८१

पहिलोपटक नेपाली छड भारत निर्यात

नेपालखोज २०७९ साउन ४ गते १३:३१

काठमाडौं । वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र छड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले आजदेखि छड निर्यात गरेको हो । रुपन्देहीको सेमरहवामा सञ्चालित उक्त उद्योगले पहिलो चरणमा आज दुई ट्रक छड भारत निर्यात गरेको जनाएको छ । उद्योगका सञ्चालक राजेश अग्रवालले आजदेखि औपचारिक रुपमा छड भारत निर्यात गरिएको जानकारी दिए । उनले सरकारले निर्यातमा सहजीकरणको घोषणा गरेसँगै छड निर्यात सुरु गरिएको बताए ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उच्च निर्यात सम्भावना भएको क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित क्षेत्र पहिचान गरी निर्यात प्रवर्द्धन गर्ने व्यवस्था बजेटमा गरेका थिए । त्यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने गरी बजेट सार्वजनिक गरेको थियो । बजेटमार्फत नै सरकारले निर्यातमा सहजीकरण गरेपछि सिमेन्ट, छड उद्योगीले निर्यात गर्न थालेका हुन् । पहिलो चरणमा परीक्षणस्वरुप ५० टन छड निर्यात गरिएको हो ।

नेपालको व्यापार घाटा कम गर्ने उद्देश्यका साथ भारतीय बजारमा छड पठाउन लागेको उद्योगीले जानकारी दिएका छन् । उनले श्री स्टिलले भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमति पाएसँगै परीक्षणका लागि छड निर्यात सुरु गरिएको जानकारी दिए ।

सरकारले निर्यातमा नगद छुटको घोषणा गरेसँगै यसअघि तानसेन सिमेन्ट उद्योगले नेपाली सिमेन्ट भारत निकासी सुरु गरिसकेको छ । सोसँगै अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्टले नेपाली सिमेन्ट भारत निर्यातका लागि तयारी थालेका छन् । उक्त उद्योगहरुले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पखाईमा रहेको जनाएका छन् ।

भारत सरकारले गुणस्तर प्रमाणीकरणको अनुमति दिनै १५ महिनाभन्दा बढी समय लगाएको भन्दै व्यवसायीले दुई देशका सरकारबीच समन्वय गरेर सहज रुपमा अनुमति दिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया