राजस्व छलीका सामानसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै एक करोड रुपैयाँ बराबरको राजस्व छलीका सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालययका अनुसार पर्साको सखुवा वर्सौनी गाउँपालिका १ घर भई हाल काठमाडौं ७ साततले बस्ने ४१ वर्षीय नवराज शर्मा भन्ने छविलाल अगस्तीलाई राजश्व छली गरेको सामान सहित पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार अगस्तीको गोदाममा छापा मार्दा काठमाडौंको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान फेला परेको हो । प्रहरीले विभिन्न ब्राण्डका विदेशी चुरोट दुई हजार नौं सय ८० बण्डल, ४८ केजी पानराज गुट्खा, तीन सय ८० थान अक्सिमिटर, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस्, इलेक्ट्रोनिक्स चिप्स, पटाका, भुइ चम्पा, आतिसबाजी लगायतका सामग्री बरामद भएको थियो ।
अवैधरुपमा सामान ल्याएर राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलिले बुधबार ती सामान बरामद गरेको जानकारी दिएको छ । अवैधरुपमा ल्याइएका ती सामान काठमाडौं महानगरपालिका ७ गोपीकृष्णनगरस्थित श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रा. लि. को नामबाट कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनले भारतबाट गैरकानुनी रुपमा राजस्व छलेर नेपाल ल्याएका ती सामान काठमाडौं महानगरपालिका ७ स्थित पुष्पा अधिकारीको घरको सटर भाडामा लिइ भण्डारण गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्र्रहरीले जनाएको छ । बरामद गरिएका ती सामान अनुसन्धान तथा कारबाहीका लागि विहीबार नै राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।
यसबाहेक बिष्फोटक पदार्थ समेत रहेकाले सोही कसुर अन्तर्गतको मुद्दामा उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।









प्रतिक्रिया