आइतबार, पुष ६, २०८२

मौद्रिक नीति घोषणापछिको पहिलो दिन ६१ अंकले बढ्यो नेप्से, २ अर्ब ७३ करोडको कारोबार

नेपालखोज २०७९ साउन ८ गते १५:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष ०७९/८० का लागि मौद्रिक नीति सार्वजनिक गर्यो । धेरै लगानीकर्ताले मौद्रिक नीतिमा ४/१२ करोडको क्याप पूर्ण रूपमा हट्ने अपेक्षा गरेका थिए । तर त्यसो भएन, उक्त नीतिको स्वरूप मात्र परिवर्तन भयो अर्थात् यसअघि फरक–फरक संस्थाबाट चार देखि १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउनेमा अहिले एउटै संस्थाबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा अर्थात् ‘मार्जिन लोन’ लिन पाउने व्यवस्था कायम भयो ।

यसको केही सकारात्मक प्रभाव नेप्सेमा पनि देखिएको छ । सोअनुसार चालु आवको मौद्रिक नीति घोषणापछिको आज पहिलो कारोबार दिन नेप्से ६१ दशमलव शून्य पाँच अंकले बढेर दुई हजार ७८ दशमलव ५१ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव नौ अंकले बढेर तीन सय ९८ दशमलव ३३ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय १९ कम्पनीको ४२ हजार नौ सय ३० पटकको कारोबारमा ६४ लाख २३ हजार एक सय ४६ कित्ता सेयर किनबेच भएका छन् । जसकारण कुल कारोबार रकम दुई अर्ब ७३ करोड नौ लाख २७ हजार दुई सय ९७ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव ८८ अंकले बढेर एक हजार तीन सय ९० दशमलव १९ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि एक सय ७७ दशमलव ३२ अंकले बढेर तीन हजार ६ सय ५२ दशमलव १३ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक ८४ दशमलव पाँच अंकले बढेर २३ सय ८१ दशमलव ८३ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय १७ दशमलव ९९ अंकले बढेर आठ हजार दुई सय ३७ दशमलव ६५ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय सात दशमलव ७७ अंकले बढेर नौ हजार आठ सय १९ दशमलव ८२ अंकमा चढेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज सेन्ट्रल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ६८ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनएमबी बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य एक दशमलव ५२ प्रतिशतले घटेर नौ सय १० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।

यसैगरी शिवम् सिमेन्टको भने प्रतिकित्ता सात सय ८९ रुपैयाँ अन्तिम मूल्यमा ३९ करोड ७१ लाख ३१ हजार ५७ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया