फोहर व्यवस्थापन : ‘शून्य फोहर अवधारणा’ कार्यान्वयन गरौँ

काठमाडाैं । फोहरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुवात गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेकोे छ । नगरपालिकाले फोहर राख्न फरक–फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ ।
कालो झोलामा कुहिने, रातोमा सिसा र सिसाजन्य फोहर, हरियोमा प्लाष्टिकजन्य फोहर, सेतोमा कागजजन्य, नीलोमा फलाम तथा फलामजन्य र पहेँलो झोलामा स्यानेटरी प्याड, डाइपरलगायतका फोहर व्यवस्थापन गर्ते तालिका नगरपालिकाले यही साउन ३ गते सार्वजनिक गरिसकेको छ । चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले फोहरको दिगो व्यवस्थापनका लागि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुवात गरेको जानकारी दिए ।
यो अवधारणाले स्थानीय स्तरमा उत्पादन भएका फोहरलाई सकेसम्म स्थानीय स्तरमै व्यवस्थापन गर्न सहजीकरण गर्ने उनले बताए । ‘साउन महिनाभरि नगवासीले बानी पार्नेछन् र यस समयमा दण्ड जरिवाना गरिँदैन, अगामी भदौ १ गतेदेखि अनिवार्यरूपमा सार्वजनिक तालिकाअनुसार व्यवस्थापनको काम नभए कारबाहीस्वरुप जरिवाना गर्ने तयारी नगरपालिकाको छ’, उनले भने ।
पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर व्यवस्थानको काम पेचिलो बन्दै गएपछि नगरपालिकाले उक्त अभ्यासलाई कार्यान्वयनमा उतारेको हो । सकेसम्म उत्पादन भएको स्थानमा फोहरको व्यवस्थापन गर्ने नगरपालिकाको नीति रहेको देखिन्छ ।








प्रतिक्रिया