राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बासडर बनिन् जोशी

नेपालखोज २०७९ साउन १० गते १४:३६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड-२०२२ लाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाबारे युवा ग्राहकमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीलाई नियुक्त गरिएको बताए । कार्यक्रममा दी हिडन ट्रेजरका राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको छवि निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा जोशीले आफू इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सुस्मिता वैद्यले गरेकी थिइन् ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरू, दी हिडेन ट्रेजरका निर्देशकद्वय सुवर्ण क्षेत्री, प्रमोद कंसाकार, मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्र्थ-२०२२ सरिसा श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल-२०२२ न्यान्सी खड्कालगायत बैंक कर्मचारीहरूको उपस्थिति थियो ।

बैंकको हाल सात प्रदेश, ७७ जिल्लामा २५८ शाखा कार्यालय, ५१ एक्स्टेन्सन काउन्टर, २६८ एटीएम र १०२ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया