‘नेपालगन्ज म्याराथन’ को आठौं संस्करणमा ८ देशका धावक, यसरी हुनुस् सहभागी !

काठमाडौं । हरेक वर्ष आयोजना हुने धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते (शनिबार) हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति-सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु भइसकेको आयोजकले बताएको छ ।
क्रियटिभ ह्यान्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगन्ज म्याराथनका लागि २०७९ असार १५ गतेदेखि खेलाडी दर्ता खुला गरिएको छ । नेपालगन्ज म्याराथनको वेबसाइटमा गएर फाराम दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजकले बताएको छ । गत वर्ष झैं यस वर्ष पनि विभिन्न दश विधामा प्रतिस्पर्धा समावेश गरिने भएकाे छ ।
पुरुषतर्फ म्याराथन (४२.१९५किमि), महिलातर्फ हाफ म्याराथन (२१किमि), १० किमि पुरुष खुला, ५ किमि महिला खुला, ५ किमि स्कुलस्तरीय छात्र, ३ किमि स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेर समूह), २ किमि कर्पोरेट रन, एक किमि ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । केही विधातर्फ नगद पुरस्कार राशिमा वृद्धि गरिनेछ । केही सप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जनाएका छन् ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको सहर हो । देशको संघीय संरचनामा नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेशद्वार पनि हो । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत सहरको चिनारी कायमै राख्न आठ वर्षअघि नेपालगन्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।
विश्व मानचित्रमा लामो दौड अर्थात् म्याराथनको अलग महत्त्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाउँ विशेषको पहिचान स्थापित गर्छ, विभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ । नेपालगन्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित भएको हो । म्याराथनलाई यसपालि अझ भव्य र उत्सवमय बनाउने आयोजकको लक्ष्य छ ।
विश्वका शीर्ष म्याराथनको प्रवर्द्धकको कार्य गर्दै आएको वर्ल्डस् म्याराथन्सले सूचीकृत गरी धारा नेपालगन्ज म्याराथनको अन्तर्राष्ट्रिय ब्रान्डिङमा मद्दत गरेको छ । यसले गर्दा यस वर्ष विभिन्न देशका प्रतिष्ठित धावकहरुको सहभागिता रहने अपेक्षा छ । धारा नेपालगन्ज म्याराथनमा सहभागी हुन चाहने जो-सुकैले जहाँबाट पनि नेपालगन्ज म्याराथन डटकम बाटै आफ्नो नाम दर्ता गर्न सक्नेछन् । वेबसाइटबाट म्याराथनको गतिविधिबारे अपटेड हुन पाइनेछ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौंमा सेनाका भीमबहादुर साउँद, छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बनेका थिए ।
प्रतिक्रिया