आइतबार, जेठ ६, २०८१

स्वास्थ्य खबर हेल्थ अवार्डको दशौं संस्करण, कोभिड उपचारमा योगदान गर्नेलाई प्रदान गरिने

नेपालखोज २०७९ साउन १७ गते १४:०६

काठमाडौं । यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रदान गरिने भएको छ ।

अवार्डले स्वास्थ्य क्षेत्रमा विशिष्ट सेवा पुर्याउने स्वास्थ्यकर्मीको योगदानको पहिचान र सम्मान गर्ने उद्देश्य साथ वार्षिक रूपमा वितरण हुँदै आएको छ । आयोजक स्वास्थ्य खबर पत्रिकाका अनुसार कोभिडको समयमा खटिएका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा विभिन्न तह र तप्कामा रही सेवा पुर्याएका स्वास्थ्यकर्मीहरूलाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो ।

आयोजकका अनुसार यस बर्ष विभिन्न नौ विधामा अवार्ड प्रदान गरिनेछ । कोभिड महामारीको जोखिममा समेत जोखिम उठाएर बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले बताएका छन् ।

कोभिडजस्तो विश्वव्यापी महामारीको समयमा अग्रभागमा रहेर बिरामीलाई सेवा पुर्याउने स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्न पाउँदा हामीलाई गौरव महसुस भएको छ, न्यौपानेले भनेका छन् । ‘यस वर्ष अवार्ड खोप नआउँदा जतिबेला कोभिड संक्रमणसँग मानिसहरू त्रसित थिए त्यस्तो विपत्तिको समयमा समेत आफ्नो कर्तव्यमा लागिपरेर मानव जीवन बचाउन योगदान गर्नुभएका समग्र स्वास्थ्यकर्मीहरूप्रति समर्पित छ ।’

उनका अनुसार कोभिडको समयमा बिरामीको उपचारमा संलग्न रहँदारहँदै जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीहरूलाई विशिष्ठ सेवा सम्मानले सम्मानीत गरिनेछ । यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिनेछ । यही भदौ १७ गते काठमाडौंमा एक विशेष समारोहबीच अवार्ड वितरण कार्यक्रम तय गरिएको समेत आयोजकले जनाएको छ ।

अवार्डका लागि नामावली संकलन, छनोट र अन्तिम निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू सम्मिलित निर्णायक समिति गठन गरिएको छ । समितिले अवार्डको नामावली संकलनका लागि आवेदन, मनोनयन र जिल्ला-जिल्लाबाट सूचना संकलन कार्य गरिरहेको बताइएको छ ।

हालसम्म देशैभरिबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब ५०० स्वास्थ्यकर्मीहरूको नामावली संकलन भएको छ । १२ वर्षअघि सुरु भएको स्वास्थ्य खबर हेल्थ अवार्ड यसअघि दुई वर्ष कोभिडका कारण स्थगित भएको थियो । सरकारी तथा सामुदायिक संस्थाहरूमा रहेर अति विपन्न तथा गरिब परिवारहरूको स्वास्थ्य अधिकारका लागि खटिने स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिने अवार्डले स्वास्थ्यमा सेवाभाव प्रवर्द्धन गर्ने आयोजकको मत छ ।

स्वास्थ्य खबर पत्रिका नेपालको पहिलो स्वास्थ्य क्षेत्रको विशिष्ठिकृत पत्रिका हो । मासिक रूपमा प्रकाशन हुँदै आएको पत्रिकाको प्रकाशन १४ वर्ष पहिला सुरु भएको थियो ।

प्रतिक्रिया