मंगलबार, पुष ८, २०८२

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

नेपालखोज २०७९ साउन २२ गते ७:५४

काठमाडाैं । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ । आजदेखि ३१ गतेसम्म दल दर्ताका लागि समय ताेकिएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

यही साउन १९ गतेसम्म आयोगमा दर्ता भएका राजनीतिक दलले संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सक्नेछन् । दल दर्ताको निवेदनको ढाँचा आयोगको वेब–साइटबाट लिन सकिने आयोगले जनाएको छ ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्नेछ ।

दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार निवेदन दिनुपर्ने व्यवस्था गरिएको उनले बताए ।

दल दर्ता प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने आयोगले जनाएको छ । सरकारले आगामी मंसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया