मंगलबार, पुष ८, २०८२

मन्त्री यादव र राईले संयुक्तरुपमा गरे वीरगन्जस्थित तिलावे नदी पुलको उद्घाटन

नेपालखोज २०७९ साउन २८ गते २१:४७

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीव यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी सडक खण्डमा पर्ने वीरगञ्जस्थित तिलावे नदीमा पुलको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

पर्साको ग्रामिण भेगलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने मुख्य बाटोमा पर्ने तिलावे नदी पुलको शनिवार एक कार्यक्रम बीच मन्त्रीद्वय यादव र राईले उद्घाटन गरेका हुन् । पूल उद्घाटन भएसँगै जिल्लाको ग्रामिण भेगका वासिन्दाले वर्षौंदेखि भोग्दै आएको जामको समस्या समाधान मिल्ने भएको छ । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै वन तथा वातावरणमन्त्री प्रदीप यादवले तिलावे नदीमा निर्माण भएको पुल पर्सा जिल्लाको समृद्धिको लागि कोषेढुङ्गा सावित हुने बताए ।

पुल निर्माणसँगै यसअघि रहेको साँघुरो र पूरानो पुलका कारण घण्टौँसम्म जाममा फस्ने समस्याबाट पनि पर्सावासीलाई छुटकारा पाउने उनले विश्वास व्यक्त गरे । तिलावे पुल प्रयोग गरेर जिल्लाको ग्रामिण भेगका ८५ देखि ९० प्रतिसत जनता सदरमुकाम वीरगञ्ज आउजाउ गर्ने गरेका छन् । नयाँ पुल बनेसँगै ग्रामिण क्षेत्रमा उत्पादित कृषि सामग्री, खाद्यान्न लगायतका बस्तुले बजार पाउने र त्यस क्षेत्रका जनतालाई स्वास्थ्य उपचार, शिक्षा, रोजगारका लागि समेत सदरमुकाम वीरगञ्ज आउन सहजता हुने मन्त्री यादवले बताए ।

त्यसैगरी मन्त्री यादवले अनुमति नपाएर रोकिएका विकास निर्माणका कामहरुको सञ्चालन गर्न वन मन्त्रालयले तत्काल अनुमति दिने आश्वासन व्यक्त गरे । नागरिकको आवश्यकतामा रहेका तर मन्त्रालयका कारण रोकिएका विकासका सबै कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै सोही अनुसार मन्त्रालयका कर्मचारी र मातहात विभाग र निकायलाई निर्देशन दिएको जानकारी समेत गराए ।

उनले भने, ‘म नागरिकको सेवाका लागि मन्त्री बनेको हुँ, वन मन्त्रालयको अनुमति नपाएर रोकीएका विकास निर्माणका कामलाई तुरन्त सुरु गर्न अनुमति दिरहेको छु, मन्त्री बनेको एक महिना भित्रै वर्षौंदेखि अनुमति नपाएर रोकिएका कयौँ विकास निर्माणका कामहरु भटाभट अनुमति दिएर सुरु गराएको छु । नागरिकको खुशी नै मेरो खुशी हो, जनताको काम एक सेकेन्ट पनि ढिलाई हुनुहुँदैन । मन्त्रालयका कर्मचारीहरुलाई पनि सोही अनुसार काम निर्दिष्ट गरेको छु । ढुक्क हुनुस मेरो कार्यकालमा धेरै कामहरु सुरु हुनेछन् ।’

यादवले वन मन्त्रालय प्राविधिक मन्त्रालय भएको कारण विकास निर्माणका काम गर्न निमिलेपनि अन्य विकासे मन्त्रालयसँग समन्वय गरेर आफूले पर्सा जिल्ला र समग्र मधेश प्रदेशको विकासका लागि नयाँनयाँ योजनाहरु ल्याउने प्रयास गरिरहेको जानकारी दिए । यादवले मञ्चबाटै पर्सा जिल्लामा अधूरा रहेका विकास निर्माणका कामलाई सपन्न गर्न समन्वय गरीदिन भौतिक यातायात तथा पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई आग्रह पनि गरेका थिए । सोही कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले अधुरो रहेको पर्सा–माडी–चितवन हुलाकी सडक खण्डको निर्माण छिटो सम्पन्न हुने आश्वासन दिए ।

मन्त्री राईले वन मन्त्रालले उक्त सडक खण्ड निर्माणमा रहेको अड्चन हटाएसँगै हुलाकी सडकको वाँकी काम सम्पन्न गरेर पर्सालाई चितवनसम्म जोड्ने र ठोरीलाई पर्यटकिय स्थलको रुपमा विकास गरिने बताए । उनले पर्सा जिल्लाको सन्दर्भमा मन्त्री यादवले दिनहु नयाँनयाँ विकास निर्माणका योजनाहरु आफूलाई मन्त्रलायमा सिफारिस गर्ने गरेको र आफूले पनि उक्त योजनाहरुलाई प्राथमिकतामा राखेको जिकिर गरे ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, सिंगासन् साह तेली, वीरगञ्ज माहनगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जसपाला जिल्ला अध्यक्ष रामनरेश यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

१०३ मिटर लामो उक्त पुल निर्माण गर्न ७ करोड ७१ लाख रुपैयाँ लागेको सडक विभागले जनाएको छ । तिन वर्ष भित्र निर्माण सम्पन्न हुनेगरी २०७२ सालमा ठेक्का लगाईएपनि विभिन्न प्राविधि कारणले पुल निर्माणमा ढिलाई भएको थियो । पुल निर्माणको काम पप्पु÷लुम्बिनी जेभीले गरेको हुलाकी सडक निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया