मंगलबार, पुष ८, २०८२

पहिराे पीडितलाई आर्थिक सहयोग

नेपालखोज २०७९ साउन ३० गते ७:३१

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई किरियाखर्च प्रदान गरेको छ । यही साउन १७ गते पहिरामा पुरिएर मालिका–२ गाल्दामा घामबहादुर विकको परिवारका पाँच जनाको निधन भएको थियो ।

१३औं दिनको पुण्यतिथि पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्चबापत आइतबार रु एक लाख २५ हजार उपलब्ध गराएको वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए । वडा कार्यालयले आयोजना गरेको शोकसभामा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष बुढाथोकीलगायतले रकम हस्तान्तरण गरेका थिए ।

पहिराेमा घामबहादुर, उनकी श्रीमती राममाया, छोरी रोजी, छोरा राजन र नवीनको मृत्यु भएको थियो । पहिराेले हुत्ताएर घाइते भएका गोठे र उनकी श्रीमती गोरी विक पोखरामा उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । पहिराेका कारण मालिकाको २ नम्बर वडामा ११ घरपरिवार विस्थापित भएका वडाध्यक्ष बुढाथोकीले बताए । आइतबार २ नम्बर वडाको सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको थियो ।

गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सागर पन्त, मालिका ४ का वडाध्यक्ष भीजेन्द्रमान पुन, प्राविधिक विमलमान राई, विकास गुरुङ, स्वकीय सचिव विनोद बुढाथोकीको टोलीले चिउरीबोट, ओखरबोटलगायत पहिराेले क्षति पु¥याएको र जोखिम बनाएको ठाउँको अनुगमनसमेत गरेको छ । वडा नम्बर ४ मा छ घर पहिरोबाट विस्थापित भएका छन् । रासस

प्रतिक्रिया