काठमाडौं ५ मा युवा उद्यमी कँडेलद्वारा उम्मेद्वारी घोषणा !

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
सामाजिक सन्जालमार्फत सोमबार उम्मेद्वारी घोषणा गर्दै कँडेलले देशमा व्याप्त विकृति अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरी देश विकासका लागि समग्र युवाको प्रतिनिधित्व गर्दै उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।
‘राजनीतिक परिवर्तनमा हामीले अग्रगामी छलाङ मार्यौं, तर नागरिकको जीवनस्तर जहाको त्यही रह्यो,’ कँडेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्र आयो, तर भुइँमान्छेहरुले त्यसको महसुस कहिल्यै गर्न पाएनन् ।’ यस्तो अवस्था अन्त्यका लागि आफू नेतृत्व लिन अघि सरेको कँडेलको भनाइ छ ।
करिब चार दशक लामो जीवनमा देश-विदेश घुम्ने, काम गर्ने र सिक्ने अवसर मिलेको बताउँदै कँडेलले आफ्नो अनुभव र सीपका आधारमा राष्ट्रनिर्माणमा लाग्न तत्पर रहेको बताए ।
काठमाडौंको बालुवाटारनिवासी कँडेल विभिन्न सामाजिक गतिविधि र व्यवसायमा संलग्न छन । उनका हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएमसी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्मलगायत व्यवसाय सञ्चालनमा छन् । यसअघि उनले काठमाडौंलाई धूलोरहित बनाउन ‘जाग्यो नेपाल’ अभियानको नेतृत्व गरेका थिए ।
प्रतिक्रिया