बुधबार, पुष ९, २०८२

ट्राफिक प्रहरीद्वारा हराएका सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

नेपालखोज २०७९ साउन ३१ गते १७:१९

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच १६ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले हस्तान्तरण गरेका हुन ।

उपत्यका र उपत्यका आसपासको ईलाकामा विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकल तथा स्कुटरहरु बरामद गरी चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गरी कारबाहिका लागि विभिन्न प्रहरी कार्यालयहरुमा पठाउने गरेको प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

गत आर्थिक वर्ष ७७/७८ मा ४ सय १९ ओटा, ७८/७९ मा ५ सय ६ र यही साउन महिना भरी ६८ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ९९ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाहीको लागि बिभिन्न प्रहरी कार्यालयहरुमा पठाएको समेत ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया