नबिल फोन लोन-क्यूआर मर्चेन्टमा यस्ता छन् सुविधा !

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यूआर मर्चेन्टलाई फोन लोनको सुविधा सुरु गरेको छ । नबिल फोन लोन–क्यूआर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यूआर मर्चेन्टले घरमा बसी–बसी कुनै पनि धितोबिनै नबिल स्मार्ट बैंकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्नेछन् ।
नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई लक्षित गरी यो सुविधा ल्याएको हो । यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैंकिङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यूआर कारोबारबाट १० हजारबराबरको कारोबार गर्नुपर्नेछ । पछिल्लो चार सातामा हरेक साता एउटा कारोबार हुनुपर्नेछ ।
‘यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितोबिनै क्यूआर कारोबारलाई आधार मानेर हाम्रा क्यूआर मर्चेन्टहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलोपटक यो सुविधा ल्याएका हौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना बताउँछन् । उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैंकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए ।
सुरुवाती चरणमा व्यवसायीहरूले एक लाखसम्मको बिनाधितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ । यसभन्दा अघि नबिल बैंकले पहिलोपटक तलबी व्यक्तिका लागि बिनाधितो डिजिटल कर्जा सुविधा नबिल फोन लोन ल्याएको थियो ।








प्रतिक्रिया