माओवादीमा टुंगिएला त पदाधिकारीको किचलो ?

काठमाडौं । पदाधिकारी चयनबारे निर्णय गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज (शनिबार) पनि बस्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।
पदाधिकारी टुंगो लगाउन भन्दै शुक्रबार बोलाइएको बैठक निष्कर्षविहीन भएको थियो । बैठकमा पद बाँडफाँडमा सहमति नजुटेपछि अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको नाम खल्तीमा बोकेर गए पनि घोषणा गर्न भने सकेनन् ।
पदाधिकारीको विषयमा घनिभूत छलफल भए पनि निष्कर्ष निस्कन बाँकी रहेको माओवादीमा आजको बैठकले भने यो विषय टुंग्याइने सम्भावना बढी देखिन्छ ।
कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार आजको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । अध्यक्ष दाहालले आजको बैठकमा प्रस्ताव गरेको पदाधिकारीको नाममा सहमति जुटे आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ ।
महासचिवमा देव गुरुङ हुने पक्का जस्तै छ । महासचिवका आकांक्षीद्वय वर्षमान पुन र जनार्दन शर्मा तथा गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने बताइएको छ । उपाध्यक्षमा दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।

प्रतिक्रिया