सोमबार, वैशाख १५, २०८२

‘स्वदेशमै रोजगारीको सिर्जना नहुँदा युवायुवती विदेश जान बाध्य भए’

नेपालखोज २०७९ भदौ ४ गते १५:५६

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घर-घरमा रोजगार सिर्जना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका १०, प्रकाशपुरमा शनिबार नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर रोजगारी सिर्जना गर्नमा केन्द्रित भएको बताए ।

देशमै रोजगारी नहुँदा युवा खाडी मुलकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसको अन्त्यका लागि सरकार विभिन्न किसिमको काम गरिरहेको बताए । स्वदेशमै रोजगारीको सिर्जना नहुँदा युवायुवती विदेश जान बाध्य भएको उनको भनाइ थियो । मुलुकलाई विकसित गर्न सबै मिलेर देशबाट बेरोजगारी र गरिबी अन्त्य गर्न आवश्यक भएको मन्त्री कार्कीले बताए ।

‘बेरोजगार अन्त्य गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित छ’

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल तथा सरोकारवालाको सभागिता थियो । यसैबीच मन्त्री कार्कीले आजै बाढीपीडित क्षेत्रको निरीक्षण गरे । केही दिनअगाडि सप्तकोसी नदीले बहाव परिवर्तन गर्दा सुनसरी बराहक्षेत्र नगरपालिका ६ र ८ मा बाढीबाट प्रभावित क्षेत्रको उनले निरीक्षण गरे ।

उक्त क्षेत्रलाई मन्त्रिपरिषद् बैठकले संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरिसकेको जानकारी दिँदै मन्त्री कार्कीले आवश्यक राहतका लागि काम भइरहेको बताए ।

प्रतिक्रिया