बागलुङबाट माओवादीमा तीन सचिव

नेपालखोज २०७९ भदौ ५ गते ११:१९

बागलुङ । बागलुङका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुगेका छन् । शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिएका हुन् ।

पार्टी स्थायी समिति बैठकले शनिबार बसेको उनीहरुसहित २१ पदाधिकारी चयन गरेको थियो । पौडेल र शर्मा बागलुङ नगरपालिका १२ र शाक्य ३ का बासिन्दा हुन् । तीनै नेता पार्टी स्थायी समिति सदस्य छन् । शर्मा २०६८ सालमा शिक्षामन्त्री भएका थिए ।

शाक्य अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्षसमेत हुन् । माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जिल्लाले केन्द्रीय नेतृत्व पाउनु सुखद् रहेको बताए । ‘अग्रज, पार्टीमा योगदान दिनुभएका र योग्य व्यक्तित्व नेतृत्वमा पुग्नुभएको छ,’ उनले भने, ‘योसँगै जिल्लामा पार्टी निर्माण र संगठन सुदृढीकरणमा पनि सकारात्मक योगदान रहने हाम्रो विश्वास छ ।’

उनले जिल्लाले नेताहरू जन्माए पनि जनस्तरमा पार्टी निर्माणको गति अपेक्षित रूपमा अगाडि बढ्न नसकेको उल्लेख गरे । स्थायी समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङलाई चयन गरेको छ ।

यस्तै बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ ।

सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की सचिवमा चयन भएका छन् । कोषाध्यक्षमा भने श्रीराम ढकाललाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया