हुन्डाई नेपालको ‘बी (भी) द चेन्ज’ अन्तर्गत गरियो वृक्षरोपण

काठमाडौं । हुन्डाई नेपालले ‘बी (भी) द चेन्ज’ अभियानअन्तर्गत रातोमाटे डाँडा, चुनिखेलमा शनिबार वृक्षरोपण गरेको छ । रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता रहेको थियो । कोना र आईनिक गरी ४० भन्दा बढी विद्युतीय गाडी थापाथलीबाट बूढानीलकण्ठसम्म गएका थिए ।
हुन्डाई नेपालको ‘बी (भी) द चेन्ज’ हुन्डाई मोटर कम्पनीको पर्यावरणमैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याइएको हो । बीभी अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटीको पर्याय बनेको आजको समयमा बी (भी) द चेन्जले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।
‘बी (भी) द चेन्ज’ अभियानअन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रममध्ये एक वृक्षरोपणले साधारण सवारीसाधनको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा राखिएको छ । त्यस्तै आगामी दिनमा पनि कम्पनीले ‘बी (भी) द चेन्ज’ अन्तर्गत पर्यावरण दिगोपनसम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने ध्येय राखेको छ ।
गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्युट्रल लक्ष्यभन्दा पाँच वर्षअगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । कम्पनीले कार्बन न्युट्रालिटीतर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरणमैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन तयार गर्ने योजना बनाएको छ ।
हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा ‘गोल अफ द सेन्चुरी’ नामक विश्वव्यापी अभियान सुरु गरेको थियो । यस अभियानले फुटबलको विश्वव्यापी आकर्षणमार्फत फुटबलप्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।








प्रतिक्रिया