बिहीबार, पुष ३, २०८२

चलचित्र ‘प्रकाश’ लाई विभेद गरेको भन्दै निर्माण टिमको आक्रोश

नेपालखोज २०७९ भदौ १० गते २०:५९

काठमाडौं । दिनेश राउतको निर्देशन तथा चर्चित अभिनेता प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘प्रकाश’ लाई विभेद गरिएकोे भन्दै फिल्म टिमले आपति जनाएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज (शुक्रबार) आयोजित साक्षात्कारमा बोल्दै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरु अन्यायमा परेको महसुस भएको बताए । प्रकाश फिल्म दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले आफुले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद् भएको भन्दै आक्रोश पोखे ।

आफ्नो फिल्मको अब ३ शो मात्रै बाँकी भएको भन्दै उनले भने,‘१२ बजे, १ बजे, त्यो भन्दा बढी शो नै छैन् । एउटा क्वि.एफ.एक्स भेन्युमा ३ वटा हल हुन्छ । त्यसमा एटलिस्ट एउटा शो त हामीलाई आउनुपर्यो नि त । प्राइम टाइमदेखि अफ टाइमदेखिको शो हुन्छ ।’
उनले आफूले बनाएको फिल्मबारे केही नभन्ने भन्दै फिल्मको जज दर्शकले नै गर्ने धारणा राखे । फिल्ममा धेरै जनाको मेहनत रहेको उनको भनाई छ । अधिकारीले आफूले बनाएको चलचित्र दर्शकले समयमै हेर्न पाउनुपर्ने माग गरे । उनले भने,‘बिहान, दिउँसो, बेलुका र रातको समयमा हेर्न पाउनुपर्यो । हामी कति हेपिएर बस्ने ? विदेशी चलचित्रमात्र देखाउन पाउने भन्ने छ र ?’
उनले अब सरकारी तवरबाटै आफ्नो फिल्म प्रदर्शनबारे सोचेर आगामी दिनमा राम्रो चलचित्र कसरी बनाउने हो ? भनेर त्यसबारेमा पनि सिकाइदिन सम्बन्धित निकायसमक्ष आग्रह गरे ।


प्रतिक्रिया