शनिबार, जेठ ५, २०८१

३ अंकले नेप्से बढ्दा १ अर्ब २६ करोडको सेयर किनबेच

नेपालखोज २०७९ भदौ १३ गते १५:३१

काठमाडौं । नेप्सेमा सामान्य अंकले करेक्सन आएको छ । अघिल्लो दिन ३३ दशमलव ३६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने तीन दशमलव ७६ अंकले बढेर एक हजार नौ सय ९३ दशमलव दुई अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७७ अंकले बढेर तीन सय ८७ दशमलव ४६ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय २२ कम्पनीको २६ हजार ४६ पटकको कारोबारमा ३४ लाख ४० हजार नौ सय कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम एक अर्ब २६ करोड ६६ लाख १९ हजार एक सय ५० रुपैयाँ कायम भएको छ । आज १३ समूहको कारोबारमा भएकामा चारवटाको सूचक घटेर बाँकी समूहको बढेका छन् ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव १५ अंकले घटेर एक हजार तीन सय ३८ दशमलव ८२ अंकमा झरेको छ । लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक घटेका छन् । विकास बैंक समूहको सूचक भने २८ दशमलव २८ अंकले बढेर तीन हजार पाँच सय ७३ दशमलव ८६ अंकमा चढेको छ । जलविद्युत समूहको सूचक ६ दशमलव ९२ अंकले बढेर दुई हजार तीन सय १० दशमलव ४७ अंकमा चढेको छ ।

निर्जिवन बिमा समूहको सूचक सात दशमलव नौ अंकले बढेर सात हजार नौ सय ६२ दशममलव ३१ अंकमा चढेको छ । फाइनान्स, जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक र अन्य समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज विन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ४८ प्रतिशतले बढेर एक हजार ४९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा रुरु जलविद्युत् परियोजनाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ७० प्रतिशतले घटेर आठ सय ८६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता नौ सय १० रुपैयाँ अन्तिम मूल्यमा ११ करोड २५ लाख ७६ हजार सात सय ७८ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया