बुधबार, पुष २, २०८२

विभिन्न सञ्चारसम्बन्धी कानुन टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण

नेपालखोज २०७९ भदौ १४ गते १५:००

काठमाडौं । प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चार सम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेकोप्रति नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गराएको छ ।

मिडिया काउन्सिल विधेयक लगायत सञ्चार सम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुंगोमा पुर्‍याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आज आग्रह गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चार सम्बन्धी ती कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ । अहिले सञ्चार सम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएकोप्रति महासंघले चिन्ता प्रकट गरेको छ ।

भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्‍याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत निर्देशन दिएका छन् ।

भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी रहेका थिए । महासंघले प्रतिनिधिसभा भंग हुनु अगावै सञ्चार सम्बन्धी कानुनका विषयलाई टुंगोमा पुर्‍याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया