कैलाली ५ बाट आरजु राणा सिफारिस

कैलाली । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस भएकी छन् ।
कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले डा राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम पडालले जानकारी दिए ।
यो क्षेत्रबाट युवा नेता क्षितिज भण्डारी पनि आकांक्षी रहेकामा उनको पक्षमा कार्यसमितिमा सहमति बन्न नसकेको पडालले बताए । कांग्रेस नेत्री राणाले निर्वाचन क्षेत्र नं ५ बाट पाँच वर्षअघि भएको निर्वाचनमा समेत प्रतिनिधि सभासदस्य पदका लागि प्रतिस्पर्धा गरेकी थिइन् ।
तत्कालीन नेकपा (एमाले) का प्रत्यासी नारदमुनी रानासँग उनी झण्डै पाँच हजार मतान्तरले पराजित भएकी थिइन् । राना नेकपा (एमाले) को तर्फबाट आउने निर्वाचनमा पनि उम्मेदवार हुने सो पार्टीका युवा नेता चूडामणि भट्टले बताए ।
निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनमा कमलबहादुर शाह, मोहनसिं राठौर, हेमबहादुर रावल, धर्मराज न्यौपाने, टीका चौधरीसहित सात जनालाई सिफारिस गरिएको प्रदेश कार्यसमिति सभापति भीम जैशीले बताए । यो क्षेत्रबाट एमालेका सूर्यबहादुर थापा, कमला ओली र झपट रावलमध्ये एक जनाले टिकट पाउने जनाइएको छ । – रासस

प्रतिक्रिया