सोमबार, जेठ ७, २०८१

देश जलाउने को रहेछ ?

कुमार खत्री २०७९ भदौ १८ गते ९:२१

कहाँ हिँनेका यी लामा लस्कर
भन्छौ नि तिमी,
हेर त कान्छा,
झोलाभरि आमाले पोको पारेको
गुन्द्रुकको पोको बोकी
हातमा राहदानी च्यापेर
जाँदै छन् खाडीतिर
रेमिट्यान्स पठाउन,
खेत बन्धकी राखेर ल्याएको पैसो
दलालले खाएपछि
दुहुनो भैंसी बेचेर
ज्यान हत्केलामा राखेर
चढ्दै छन् जहाज,
अनि हेर न,
देश त यिनैले चलाएका रहेछन्,
घाम-पानीको प्रवाह नगरी
बगाएका छन् पसिना
आफू काकाकुल बनेर
बस्तीको अनिकाल धानेका छन्
हन्डरजति आफू खान्छन् र
कौडीका भाउमा फसल बेच्न विवश छन्
हेर न
देश त यिनैले चलाएका रहेछन्
चलाउने र जलाउनेमा
विभक्त छ देश
चलाउने सोझा र निमुखा
जलाउने बाठा र दुर्मुखा
दुर्मुखाहरुले,
स्वाभिमानको सुपारी सुम्पिएर
पठाइसके निम्तो म्लेच्छेहरुलाई,
अब, एमसीसी रुपी जाली पाशा बोकेर
आउँदै छ एउटा शकुनि गान्धारबाट
महाभारतको प्रलय मच्चाउन
हस्तिनापुर तर्फ,
द्रौपदी झैँ,
मातृभूमिको चीरहरण हुँदा
किंकर्तव्यविमूढ छन् धृतराष्ट्र हरु,
मुर्दा शान्तिमा छ देश
मानौं कुनै भद्र पुरुषको लाश
बिसाइएको मात्र छ
ठाँटी चौतारामा
अनि हेर न कान्छा
देश त यिनैले जलाएका रहेछन्
बन्दुकको छायाँ पारेर
पशुपतिनाथको मुकाममा
लेखिएको धर्मनिरपेक्षताको
कपाली तमासुक
झुलुक्क देखाइन्छ,
मच्छिन्द्रनाथको भोटो देखाएझैँ
अनि मर्माहत छन्
फड्के किनाराका साक्षीहरु
अनि हेर न कान्छा
देश त यिनैले जलाएका रहेछन्,
जबजको पेरुंगो भित्र
माओवाद मुन्ट्याएर
कसिदिए प्रचण्डपथको पोयोले र
एउटा गौरवमय क्रान्तिको
गरिदिए बिसर्जन
अनि सहिदहरुको अपमान
अनि हेर न कान्छा,
देश त यिनैले जलाएका रहेछन्
शकुनिको कुटिल षड्यन्त्रमा
तयार छन् गुप्त लाक्षागृहहरु
प्रयोग भइसके ´महरा´ हरु
यदि,
एमसीसी पारित भए,
सम्झिराख सद्दाम हुसेन
सम्झिराख ओसामा विन लादेन,
बुझ्यौ कान्छा,
देश जलाउने को रहेछ ?

प्रतिक्रिया