सिट बाँडफाँड टुंगो लगाउने दाबीसहित कार्यदलकाे बैठक बस्दै

नेपालखोज २०७९ भदौ २१ गते ६:५४

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि गठित कार्यदलकाे बैठक आज पनि बस्दै छ । हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्न लागेकाे हाे । आजको बैठकले जसरी पनि सिट बाँडफाँड टुंगो लगाउने कार्यदलले दाबी गरेकाे छ ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँडका सम्बन्धमा आफ्नो काम मंगलबारसम्म टुङ्ग्याउने गरी हिजाेकाे बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । उनले भने, ‘कार्यदलले आफ्नो काम आजसम्म टुङ्ग्याउँछ र प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ । सिट बाँडफाँडका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको छ ।’

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रतिक्रिया