महिला साफ फुटबल : नेपाल ४-० गोल अन्तरले विजयी

काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको छैटौं संस्करणको महिला साफ च्याम्यिनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । घरेलु मैदान र दर्शकको राम्रो साथ पाएको नेपालले भुटानमाथि ४–० गोल अन्तरको जित दर्ता गरेको हो ।
नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले दुई/दुई गोल गरेका थिए । सावित्राले पहिलो हाफको १२औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा अरु ३ गोल थप गरेको थियो । सावित्राले नै व्यक्तिगत दोस्रो गोल ६८औं मिनेटमा गरेकी हुन्। सावित्राले नेपालका लागि गोल संख्या ४० पुर्याएकी छन् ।
२ गोलले अग्रता लिएको नेपालले ७३ औं मिनेटमा तेस्रो गोल गरेको थियो। त्यतिबेला अनिताले व्यक्तिगत पहिलो तथा टिमका लागि तेस्रो गोल गरिन् ।
उनैले ८४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नेपालले भुटानमाथि ४–० को सहज जीत दर्ता गरेको हो । नेपालका लागि आजको खेलबाट अमिषा काकी, समिक्षा घिमिरे र दीपा शाहीले डेव्यु गरेका थिए ।
प्रतिक्रिया