देउवाले भने- मुलुकको विकासमा कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताएका छन् । उनले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे । ‘हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो, ’ उनले भने, ‘तर कर्मचारी (तपाई)हरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।’ उनले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताए । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रुपमा हुनुपर्ने बताए । उनले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्ने भन्दै जनताको काम छिटोछरितो रुपमा हुनुपर्ने बताए । उनले सेवाग्राहीका काम कार्यगत एकता प्रणालीमार्फत हुनुपर्ने बताए ।
‘जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ,’ उनले भने, ‘एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ ।’ उनले संघीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताए । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया