नक्सा पास नगरी बनाइएका भवनको ९० दिनभित्र नक्सा पेस गर्न महानगरपालिकाकाे अल्टिमेटम

नेपालखोज २०७९ भदौ २३ गते ९:२८

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा ९० दिनभित्र पेस गर्न अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै भनेकाे छ ‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ ।’

महानगरले तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने जनाएकाे छ ।

प्रतिक्रिया