भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने केरा किसानको चेतावनी

नेपालखोज २०७९ भदौ २३ गते १३:२२

चितवन । जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक संघ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको छ ।

जिल्लामा ७० हजार मेट्रिक टन वार्षिक केरा उत्पादन हुँदै आएको संघले जनाएको छ । भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी चरणबद्ध आन्दोलन गर्ने संघले जनाएको हो । सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको भए पनि विभिन्न नाकाबाट बिना एलसी भारतीय केराहरु अवैधरूपमा नेपाल भित्रिने गरेको पाइएको अध्यक्ष घिमिरेले जानकारी दिए । विज्ञप्तिमा भनिएको छ, ‘यो समस्या समाधान हुन नसके व्यवसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्ने छन् ।’

चाडपर्वको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनाले कृषक अप्ठ्यारोमा परेको कृषकहरूले बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले भारतीय आयात रोक्न नसके जिल्लाको उत्पादन त्यसै फाल्नुपर्ने बताए । नेपालमा छठपर्वसम्मलाई पुग्ने केरा उत्पादन भएको भन्दै उनले देशभरबाट भारतीय केरा आयात विरुद्धमा आन्दोलनको तयारी भएको बताए । नेपालमा उत्पादित केराले बजार नपाउने अवस्थामा कृषक आन्दोलित बन्नुपरेको महासंघले जनाएको छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ । रासस

प्रतिक्रिया