माधव नेपालकाे दाबी- समानुपातिकमा २० लाख मत पाउँछौं

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए ।
गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । मुस्लिम इत्तेहाद संगठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई संगठन बलियो बनाउन उनले आग्रह गरे ।
पार्टीका सबै संगठनलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकाले गाउँगाउँमा संगठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए । उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउनेगरी काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया