चीनले अघोषित नाकाबन्दी गरेपछि अर्बौंका सामान नाकामै अड्किए

नेपालखोज २०७९ भदौ २५ गते २०:३८

काठमाडौं । चिनियाँ नाकामा अड्किएका अर्बौंका सामान छुटाउन राज्यकातर्फबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपालीहरुको ठूलो चाड दशैं नजिएको तर दशैंमा बेच्नुपर्ने सामान नाकामै रोकिँदा अर्बौंका सामान सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्ष कुमार कार्कीले बताएका छन् । ‘संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘सयौँ मालवाहक कन्टेनरहरु नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रीत अर्बौंका सामानहरु सडिने, कुहिने र बिग्रने भएर नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ ।’ महासंघले यी समस्याहरु तत्काल समाधान गर्न पहल गरिदिनु हुन पनि अनुरोध गरेको छ ।

धेरै उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ । बैंकले दिएको मानसिक तनावका कारण कतिपय उद्योगी व्यवसायीहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएको भन्दै महासंघले यसतर्फ गम्भीर बन्न समेत सरकारलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया