काठमाडौं आइपुगे चिनियाँ जनकंग्रेस अध्यक्ष ली

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज (सोमबार) काठमाडौं आइपुगेका छन् ।
उनी विशेष विमानबाट आज अपराह्न काठमाडौं आइपुगेका हुन् । अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरे । विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु उपस्थित थिए ।
सभामुख सापकोटा र अध्यक्ष लीले आज संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै सभामुख सापकोटाले होटेल सोल्टीमा अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रि भोजको आयोजना गर्ने छन् ।
अध्यक्ष लीले यही भदौ ३० गतेसम्म चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । यसैगरी उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने छन् । नेता लीले यस भ्रमणका क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया