शुक्रबार, चैत १६, २०८०

‘पाँचौं एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ कोलोराडोमा हुँदै

नेपालखोज २०७९ भदौ २८ गते १४:१७

काठमाडौं । ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौं संस्करण अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ ।

नेपाल अमेरिका सम्बन्धको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा कार्यक्रम सन् २०२२ अक्टोबर १३, १४ र १५ तारिखमा अवार्ड आयोजना हुने जानकारी ‘पाँचौं एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नवराज श्रेष्ठले गराएका छन् । अवार्ड कार्यक्रममा १३ र १४ तारिख नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले फिल्म फेस्टिबल हुने तथा १४ तारिखमा अमेरिकामा नेपाली चलचित्रको सम्भावनाबारे अन्तर्क्रिया कार्यक्रम र १५ तारिखका दिन अवार्ड वितरण कार्यक्रम हुने श्रेष्ठले जानकारी गराएका छन् ।

एटीए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनील पाठक एजेन्ट अल स्टेट इन्स्योरेन्स कम्पनीको सह-प्रयोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड’ गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रुपमा ‘पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड’गर्न लागेका हुन् । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।

कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेन । अवार्ड कार्यक्रममा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली फिल्मकर्मीलाई प्रोत्साहनसमेत गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए ।

अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवर्द्धन गर्नु रहेको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए । ‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ,’ उनले भने ।

नेपाललाई विदेशी चलचित्रकर्मीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यका रुपमा चिनाउन पनि यसले मद्दत गर्ने गोल्डेन स्टेट मुभी मेकरका यज्ञलाल श्रेष्ठले बताएका छन् भने सकेसम्म हलिउड फिल्ममेकरलाई नेपालमा निम्ताएर कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि श्रेष्ठले जानकारी गराए ।

अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरुलाई समेत समावेश गराउने अर्का आयोजक ८८४८ मिडिया हाउस एलएलसीका अध्यक्ष तथा निर्देशक नारायण पुरीले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको पुरीले जानकारी दिएका छन् ।

‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली चलचित्रको प्रवर्द्धन गर्नु हो । नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि हो । अमेरिकामा नेपालबाट धेरै कलाकारहरु पुगेका छन्, उनीहरुसँग पुनर्मिलन गर्नु पनि अवार्डको उद्देश्य हो । नेपाललाई चलचित्र टुरिजमको हब बनाउनु पनि अवार्डको उद्देश्य हो । हामीले पैसा कमाउन अवार्ड गरेका होइनौं,’ अध्यक्ष मल्लले भने । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरुलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य रहेको उनले बताए ।

अवार्ड र फिल्म फेस्टिबलका लागि छनोट समिति गठन भइसकेको र चाँडै अवार्डको सम्पूर्ण जानकारी प्रेस विज्ञप्तिमार्फत ल्याउने भएको छ । त्यसैगरी नेपालबाट अवार्ड कार्यक्रममा जाने कलाकार तथा फिल्म फेस्टिबलमा समावेश हुने चलचित्रहरुको जानकारी केही दिनमा गराउने अवार्डका नेपाल संयोजक मदुकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

यसअघि पत्रकार सम्मेलनमार्फत अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा अवार्ड आयोजना गरिने भनेकामा विविध प्राविधिक कारणले गर्दा अवार्डको मिति र स्थान परिवर्तन भएको जानकारी ग्लोबल नेपाली फिल्म अवार्डका प्रेस संयोजक सूर्य चन्दले बताए ।

प्रतिक्रिया