शनिबार, वैशाख ८, २०८१

अर्घाखाँचीको नरपानीमा बढ्न थाले पर्यटक

नेपालखोज २०७९ भदौ ३१ गते १४:२२

अर्घाखाँची । अर्घाखाँचीको प्रमुख धार्मिक तथा मनोरमस्थल नरपानीमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । शीतल हावा र चिसो पानी र खुला मौसममा एकैपटक धेरै हिमाल देख्न पाइने मनमोहक दृश्य देख्न पाइने भएपछि गर्मीको मौसममा तराई र भारतबाट समेत गर्मी छल्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।

नरपानी क्षेत्र पछिल्लो समयमा प्रमुख वनभोजस्थलको रुपमा पनि विकसित हुँदै गएको छ । गर्मी समयमा यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिकरुपमा हजारौँ मानिस आउने गरेको सन्धिखर्क–६ नरपानीका वडाध्यक्ष श्रीधर महत्राले बताए ।

तराई मधेस र गर्मी क्षेत्रबाट आउने पर्यटकले नरपानीमा आएर चिसो मौसममा पर्यटक निकै रमाउने गरेको उनी बताउँछन् । गत वर्षदेखि दैनिकरुपमा १० देखि ५० समूह आउने गर्दछन् । शनिबारको दिन यहाँ झण्डै २० देखि ६० समूहमा पर्यटक आउने गरेको अध्यक्ष महत्रा बताउँछन् ।

महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा रहेको नरपानी क्षेत्रमा प्रसिद्ध सुपा देउराली मन्दिरमा दर्शन गर्न र भाकल चढाउन आउनेको कारण पनि आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ । मन्दिरमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउने र देउरालीमा चढाएका पाठापाठी नरपानी क्षेत्रमा वनभोज मनाउने चलन रहेको छ । चढाएको बलि घरमा लैजान नहुने विश्वासका कारण पनि वनभोज मनाउने चलन रहेको स्थानीय समाजसेवी यमकला थापा बताउँछन् ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च पदमा रहेका व्यक्तिसमेतले दर्शन गर्छन् । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने धार्मिक विश्वास छ ।
यहाँ दैनिक पाँच सयदेखि तीन हजारसम्मले दर्शन तथा पूजाआजा गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिले जनाएको छ ।

प्रतिक्रिया