बिहीबार, कार्तिक १३, २०७७

यस कारण उडाइन्छ दशैँमा चंगा ! यस्तो छ इतिहास सहितको नालिबेली

नेपालखोज २०७६ असोज १७ गते १३:४९

टंककला तिमिल्सेना
१७ असोज २०७६, काठमाडौँ । जब खुल्ला आकाशमा आकर्षक रुपले चंगाहरु उडिरहेका हुन्छन् मनै आनन्द हुन्छ । त्यही आनन्दतालाई थप उचाईमा पु¥याउन चंगाहरु माथि माथि लुकामारी खेलेझै गर्छन् अनि संकेत गरिरहन्छन् आउ रमाऔँ दशैँ आयो । ओ हो साँच्चै पो दशैँको रौनक त चरम विन्दुमा पुग्दैछ ।

विजय, हर्ष, उल्लास र मनोरञ्जनको समिश्रण मानिने दशैँलाई चंगाहरु उडेका दृश्यले नजिकबाट सामिप्यता गाँसिरहेका हुन्छन् । मानौँ, कुनै गहिरो सम्बन्ध छ यस्ता चंगाहरुसँग दशैँको । वास्तवमा चंगाको सम्बन्ध दशैँसँग गहिरो नै छ । खुल्ला आकाशमा चङ्गा उड्न थालेपछि शरदीय (सरद ऋतु) समयको अनुभूति हुन थाल्छ ।

बर्षा सकिएर कामको चाप कम भएको अवस्थाको अनुभूति हुन थाल्छ । यसरी उड्ने चङ्गाहरु दशैँ आगमनसँगै दशैँ मनाउँदा मनोरञ्जनात्मक भावका सूचक हुन् ।

नेपालीको ठूलो चाड दशैँ आएको संकेत गर्ने चंगासँग हाम्रो संस्कृतिको गहिरो सम्बन्ध छ । शरद ऋतुमा पर्ने दशैँको बेला मौसम सफा हुन्छ । न गर्मी, न जाडो । मन्द हावाको बहावसँगै नेपालीहरू चंगामा रमाउँछन् । यो हाम्रो मौलिक पहिचान हो । नेपाल भाषामा ‘भुटुमाली’, हिन्दीमा ‘गुड्डी पतंग’ भनिने चंगाको अंग्रेजी नाम ‘काइट’ नाम गरेको चराबाट रहेको हो ।

चङ्गा चीनका नागरिक गोसु आनले आबिष्कार गरेका हुन् । यसै कारण चीनमा चङ्गालाई साँस्कृतिक दृष्टिले हेरिन्छ । दुष्टात्मा धपाउन चिनमा चंगा उडाउने गरियको चिनको ईतिहास र संस्कृति सम्बन्धि विभिन्न जानकारी मुलक पुस्तकहरुमा लेखिएको छ ।

नेपालमा चंगाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि मल्लकालमा भारतबाट चङ्गा उडाउने कला भित्रिएको संस्कृतिविद् सत्यमोहन जोशी बताउनुहुन्छ । यसबाट थाहा हुन्छ कि चंगाको इतिहास लामो छ नेपालमा ।

चंगा उडाउनु केवल मनोरञ्जन लिने तरिकामात्र होइन । हामिकहाँ वर्षाका देवता इन्द्रलाई अब पानी पुग्यो भन्ने सन्देश पठाउन चंगा उडाउने गरिएको किंवदन्ती छ ।

काठमाडौँ उपत्यकामा नागपञ्चमीदेखि हरिबोधिनी एकादशीसम्म चंगा उडाउने गरिन्छ । काठमाडौँका स्थानिय ज्येष्ठ नागरिकहरुका अनुसार कृषि कार्यका लागि पर्याप्त पानी नपुग्दै कसैले चंगा उडायो भने उपत्यकाका कृषकहरू रिसाउने गर्थे । धानका लागि पानी पुगेकै छैन किन चंगा उडाएको भन्दै अभिभावकहरू आफ्ना बच्चालाई हप्काउँथे रे । त्यसैले चंगा उडानसँग हाम्रो कृषिकर्म पनि जोडिएको छ ।

झट्ट हेर्दा चङ्गाको आकार चर्तुभुज देखिन्छ । चङ्गा निर्माण गर्दा कागज वा प्लाष्टिक धाँगो र बाँसका मसिना सिन्काको आवश्यकता पर्छ । बाँसका हलुका सिन्कामा चर्तुभुज ढाँचामा कागज वा प्लाष्टिक राखी धागोले जोड्नु नै चङ्गा निर्माणको प्रक्रिया हो । चङ्गा गुरुत्वाकर्षणको विपरित हावाको भरमा माथि तर्फ उड्दछ ।

हावाले माथि धकेल्ने र धाँगोको बलले तलतिर तान्ने यी दुई विपरित बलको सन्तुलनले चङ्गा उडेको हो । विज्ञानले विकास गरेका कयौं आविष्कारसँग चङ्गा उड्ने प्रक्रियाको सन्तुलन मिल्ने बताईन्छ ।

चंगा बनाउन राम्रो कला र सीप चाहिन्छ । चंगा उडानका विषयमा जानकार एवंम भाषा विज्ञानका प्राध्यापक निर्मलमान तुलाधरका अनुसार नेपालमा मौलिक नेपाली चंगा बनाउनेहरूको पनि कमि देखिन्छ । नेपाली बजारमा भारतीय चंगा भित्रिन थालेपछि काठमाडौँमा चंगा बनाउने र त्यसको व्यापार गर्नेहरू विस्थापित हुँदै गएका छन् ।

चंगा विभिन्न प्रकारका हुन्छन् । नेपाली चंगा उडानकला विश्वकै उत्कृष्ट चंगा उडानकलाभित्र पर्छ । लट्टाईबाट धागो सरर छोडेर चंगा उडाउने नेपाली कला विदेशीहरूलाई खुब आकर्षित गर्छ ।

चङ्गा उडाएर रमाईलो गर्ने चलन विश्वका अधिकांश मुलुकहरुमा छ । हामीकहाँ मात्र चंगालाई बच्चाको खेलका रूपमा लिने गरिएको छ । चंगाले मनोरञ्जनमात्रै प्रदान गर्दैन । यसले हरेक राष्ट्रको संस्कृति झल्काउने काम पनि गर्छ । युरोपतिर चंगालाई मनोरञ्जन तथा खेलको साधनभन्दा पनि एक प्रकारको संस्कृतिका रूपमा विकास गरिएको छ ।

चंगाको इतिहास धेरै लामो छ । इसापूर्वभन्दा अघि नै यहुदीहरूमाझ चंगाको प्रचलन थियो भन्ने कथन छ । तीन हजार वर्षपहिला चंगा चीनमा बनेको थियो भन्ने मत पनि छ । चीनबाट सुरु भएको चंगा न्युजिल्यान्ड हुँदै पछि युरोपसम्म पुगेको हो भन्ने गरिन्छ ।

चंगा सम्बन्धि जानकार प्राध्यापक तुलाधरका अनुसार विश्वमा सबैभन्दा ठूलो र सबैभन्दा सानो चंगा जापानीहरूले उडाउने गरेका छन् । कलात्मक चंगा बनाउनमा पनि उनीहरू अघि छन् ।

सुरु सुरुमा चंगाको प्रयोग सैनिक उद्देश्य र मौसमको भविष्यवाणीका लागि गरिन्थ्योे । यसलाई मानव विकासका विभिन्न पक्षमा पहिलेदेखि नै प्रयोग गर्ने गरिएको पाईन्छ । दशैँका अवसर पारेर विभिन्न वस्तु तथा सेवा गरिने विज्ञापनमा कुनै न कुनै रूपमा चंगाको प्रयोग भइरहेको हुन्छ ।

दशैँ लक्षित कमर्सियल एडमा बढ्दो प्रयोगले चंगाको महत्वलाई बढाए पनि चंगा उडान मार्फत हामीले हाम्रो संस्कृति तथा पर्यटन प्रवद्र्धनमा लिन सक्ने फाइदा लिन सकेको देखिदैन । चंगाको प्रसंग दशैँ आएपछि जोडिएर आउने तर चंगा उडान प्रतियोगिता, फेस्टिभल, काइट म्युजियम स्थापना लगायत काममा भने खासै ध्यान पुगेको पाईदैन ।

नेपालले पनि अन्तर्राष्ट्रिय स्तरको चंगा महोत्सव आयोजना गर्ने र चंगाको संग्रहालय स्थापना हुन सक्ने हो भने हामी चंगा मार्फत हाम्रो कला–संस्कृति र पर्यटन प्रवद्र्धन गर्न सक्छौँ । नेपालको शहरी क्षेत्रमा आयातित चङ्गा उडाईन्छ भने ग्रामीण क्षेत्रमा स्थानीय सीपबाट निर्मित चङ्गा उडाईन्छ ।

नेपाललगायत जापान, भारत, कोरिया, मलेसियालगायतका केही देशहरुमा चङ्गा उडाउने प्रतियोगिता नै हुन्छ । नेपालको शहरी क्षेत्रमा पनि यस प्रकारका कार्यक्रम हुने गरेका छन् । दशैंका समयमा बार नलगाइएका छतमा बसेर चङ्गा उडाँउदा खेलको सुरुमा लडेर दुर्घटनाहरु हुने गरेका घटनाहरु पनि सुनिन्छन् ।

दशैंको आगमनसँगै वृद्धि भएको चङ्गा व्यापार र यसबाट हुन सक्ने दुर्घटना यस बेला स्मरण गर्नु पर्ने बिषय बनेका छन् । के तपाई पनि दशैँका समयमा चङ्गा उडाउने सोचमा हुनुहुन्छ ? सचेत रहनुहोला, रमाईलो गर्दागर्दै दुर्घटना भएर खिन्न हुन नपरोस्, सुरक्षित स्थान वा आडमा बसेर तथा खुल्ला चौरबाट चङ्गा उडाऔँ, सुरक्षित रही पर्व मनाऔँ  । (विजया दशमी २०७६ सालको हार्दिक मंगलमय शुभकामना – नेपाल खोज परिवार )

प्रतिक्रिया