वर्षासँगै आएको बाढीमा परि कैलालीमा एक बेपत्ता, दुई घाइते

धनगढी । धनगढी उपमहानगरपालिका–१३ झलारी खोलामा आएको बाढीमा डुबेर २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छन् । वर्षासँगै खोलामा आएको बाढीको मौका छोपेर माछा मार्ने क्रममा नवीना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
निजको खोजी जारी रहेको प्रहरीले जनाएको छ । वर्षासँगै भएको डुबानले घर भत्किँदा कैलाली जिल्लाको टीकापुर नगरपालिकाकामा एक र चुरे गाउँपालिकामा पहिराले घर भत्किँदा एक जना गरी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–२ मा कच्ची घर भत्किँदा २२ वर्षीय शिशिर चौधरी घाइते हुनुभएको छ । टीकापुर अस्पतालमा उपचाररत उहाँको अवस्था सामान्य रहेको छ ।
यस्तै जिल्लाको पहाडी क्षेत्रको चुरेगाउँपालिका–३ का स्थानीय रामप्रसाद सापकोटाको घर पसल माथिबाट खसेको पहिरामा परी उहाँका आठ वर्षीय छोरा आयुस घाइते भएका छन् । पहिराले टिनको छाना भएको घर पसलमा क्षति पुगेको छ । घाइते बालकको अवस्था सामान्य छ । बाढी र डुबानका कारण जिल्लाको भजनी र लम्कीचुहा नगरपालिका, चुरे, जोशीपुर र जानकी गाउँपालिकामा गरी झण्डै एक हजारभन्दा बढी घरपरिवार प्रभावित भएको प्रारम्भिक आकलन छ ।
वर्षासँगै कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका एक सय १७ घरमा पानी पसेपछि घरभित्र राखिएको धनमालमा क्षति पुगेको छ । कैलारी गाउँपालिकाका विभिन्न वडामा गरी एक सय १५ घरमा पानी पसेर क्षति पुगेको छ । डुबानबाट विस्थापितलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । सोही गाउँपालिकाको वडा नं ३ मा रहेको खोनपुरस्थित मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलका पिलर बाढीले भत्किएर क्षति पुगेको छ । स्थानीय मानबहादुर चौधरीले कैलारी गाउँपालिकाको विभिन्न वडामा गरी झण्डै छ सय घर डुबानमा परेको बताए ।
उनले भने, ‘मोहनाको बाढीले नदी आसपासको अधिकांश बस्ती डुबेको छ, धेरै परिवार विस्थापित भएको छ ।’ धनगढी उपमहानगरपालिका–१३ को श्रीलङ्का गाउँमा मोहना नदीको डुबानमा परि विस्थापित भएका १४ घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा राखिएको छ । गोदावरी नगरपालिकामा डुबानमा परेका घरका सदस्यको उद्धार गरिएको छ ।
जोशीपुर गाउँपालिकास्थित काँडा नदीमा आएको बाढीका कारण डुबानमा परेका भित्रिया, फाडिया, मनिकापुर, हस्नापुर, बन्जरियालगायत गाउँका तीन सय घरपरिवार विस्थापित भएका छन् । पपथरैया नदीको बाढीले जोशीपुर गाउँपालिकाको खैरेनी गाउँका ९० भन्दा बढी घर डुबानमा परि विस्थापित भएका छन् । डुबानमा परि जिल्लामा दुई सय ५१ पशुचौपाया मरेका छन् ।
हुलाकी राजमार्ग सुरक्षित स्थानको ‘सेल्टर’ बन्यो
वर्षासँगै भएको डुबानका कारण विस्थापित भएका कैलाली जिल्लाको भजनी नगरपालिका र जोशीपुर गाउँपालिका व्यक्ति परिवारका सदस्यसहित हुलाकी राजमार्गमा पाल टाँगेर बसेका छन् । मोहना, काँडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानले विस्थापित भएकाहरू अग्लो भू–भाग रहेको हुलाकी राजमार्गमा बसेका हुन् । विस्थापित कतिपय परिवार नजिकको आफन्तको घरमा आश्रय लिएका छन् ।
स्थानीय जयप्रसाद ढुङ्गानाले भने, ‘डुबानको समस्या बढ्दै जाँदा जोखिममा परेकाहरू आफ्ना पशुचौपाया र अन्य धनमालसहित हुलाकी राजमार्गमा पुगेका छन् ।’ प्रमुख जिल्ला अधिकारी किरण थापाले डुबानमा परेकाको उद्धारका लागि गए रातिदेखि नै प्रहरी टोली परिचालन गरिएको बताए ।
प्रहरी टोलीले मोटरबोट र ट्युबको सहायतमा डुबानमा परेका भजनी क्षेत्रका बासिन्दाको उद्धार गरिरहेको छ । स्थानीय समाजसेवी खेमराज विनाडीले डुबानका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको बताए । डुबानको जोखिम थप बढ्नसक्ने देखिएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पूर्वसूचना गरिँदा मानवीय क्षति हुन नपाएको बताए ।

प्रतिक्रिया