बिहीबार, वैशाख १३, २०८१

‘फेरि एकचोटि संसद् बाल्नुछ’

अर्जुन पराजुली २०७९ असोज ३ गते ७:२८

सप्रेको जति मैले,
बिग्रेकोजति तैले भनेर भन्नु छ !
खेदोको स्काभेटर चलाउनु छ,
खाल्टो खन्नु छ !
खाल्टो किन भनेर कसैले सोध्यो भने समृद्धि ल्याउन भन्नु छ !

कसम नयाँ खानु छ झुटको खेती गर्नु छ !
मल हालेर सप्रिंदैन झुटको बोट
बोटको वरिपरि भ्रम छर्नु छ !

आफूले गरेको भ्रष्टाचारलाई अरूले गरेको भनेर देखाउनु छ !
यता बनाएकै छैन, उता उद्घाटन भएको समाचार लेखाउनु छ !
घटीमा पनि
दुईसय किलो फूलको माला पहिरनु छ !
माला पहिरन,
कहिले यता कहिले उता गइरहनु छ ! नेता मात्रै भएर पुग्दैन
फेरि राजनेता भइरहनु छ !

एउटा हातले देशको झण्डा उचाल्नुछ !
अर्को हातले जनताको आँखामा छारो हाल्नु छ !
छारो नहाले देख्छन् आँखाले
लाइटर र सलाई बोकेर सम्सदमा पाल्नु छ !
निकै जाडो हुन्छ भन्छन्
आउने माघमा,
आगो ताप्न पेट्रोल छर्की फेरि एकचोटि सम्सद बाल्नु !

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया