शनिबार, वैशाख २७, २०८२

साफ महिला फुटबल : नेपाल बंगलादेशसँग पराजित हुँदै इतिहास रच्न असफल

नेपालखोज २०७९ असोज ३ गते १९:१४

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिम फेरि एक पटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ । यसअघि ५ मध्य ४ पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो ।

सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल अन्ततः बंगलादेशसँग ३–१ गोल अन्तरले स्तव्ध हुँदा फेरि पनि उपाधि विहीन बन्न पुग्यो ।

नेपाललाई पराजित गरेको बंगलादेश पहिलो पटक च्याम्पियन बन्न पुग्यो । इतिहासमा दोस्रो पटक फाइनल खेलेको हो ।

यसअघि २०१६ को फाइनलमा बंगलादेश भारतसँग फाइनलमा स्तब्ध बनेको थियो । खेलको १४औं मिनेटमा साम सुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । 

उनी १०औं मिनेटमा जहान सोप्ताको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । मैदान प्रवेश गरे लगत्तै गोल गरेपछि बंगलादेशको टिमको आत्मविश्वास बढेको थियो । ४२औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गर्दै बंगलादेशको अग्रतालाई दोब्बर पारेकी थिइन् ।

पहिलो हाफमा २ गोलले पछि परेको नेपालले दोस्रो हाफमा १ गोल फर्काउँदा उल्टै १ गोल व्यहोरेको थियो । ७०औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याएकी थिइन् । तर, ७७औं मिनेटमा कृष्णारानीले गोल गरेपछि बंगलादेश ३–१ को आरामदायी अवस्थामा पुगेको थियो ।

प्रतिक्रिया