जनकपुरधाममा धार्मिक पर्यटनको ठूलो सम्भावना छ : मन्त्री चौधरी

धनुषा । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको बताएका छन् ।
जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा विश्वास गर्नेहरुको लागि यो पवित्र स्थल हो । यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’ जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको मन्त्री चौधरीले बताए ।
जलेश्वर–२, मा सांस्कृतिक सामुदायिक भवनको स्तरोन्नती, बोधिमाई मन्दिर परिसरमा घाट निर्माण, ट्रयाक स्तरोन्नती, जनकपुरधाम स्थित रामजानकी कुट्टीमा रहेको सांस्कृतिक भवन स्तरोन्नती, जनकपुरधाम–४ मा मिथिला परिक्रमा विश्राम भवन निर्माण, मिथिला बिहारी नगरपालिका कचुरीमा सांस्कृतिक भवन तथा विवाह मण्डप निर्माण, धनुषाधाम मन्दिर परिसरमा रहेको सांस्कृतिक भवनको स्तरोन्नती लगायतका योजनाहरु रहेका छन् ।
आयोजनाको कुल अनुमानित लागत १० करोड रहेको छ । त्यसैगरी सहरी मन्त्री चौधरीले जनकपुरधाम उपमहानगरपालिकामा सडक तथा नाला निर्माण कार्यक्रमअन्तर्गत दुर्गाचोक–रेल्वे ट्रयाक सडक खण्डमा सहरी सडक तथा नाला स्तरोन्नती कार्यको पनि शिलान्यास गरेका छन् । जस अन्तर्गत २.२ कि. मि. लम्बाईमा १६ मि. चौडा सहरी सडकको मापदण्ड अनुसार साइकल लेन, फुटपाथको व्यवस्था हुनेछ । दुवैतर्फ विरुवा रोपेर हरियाली कायम गरिने जनाइएकोछ । यस आयोजनाको अनुमानित लागत रु २० करोड रहेको छ ।

प्रतिक्रिया