आइतबार, जेठ ६, २०८१

बिमा क्षेत्रको विकास, विस्तार र बिमामा पहुँच वृद्धिका लागि समिती तयार

नेपालखोज २०७९ असोज १३ गते १५:०२

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्रको विकास, विस्तार र बिमामा पहुँच वृद्धिका लागि बिमा कम्पनीसँग सहकार्य गर्न बीमा समिति तयार रहेको बताएका छन् ।

विजया दशमी, शुभ दीपावली र छठ लगायतका पर्वहरुको उपलक्ष्यमा बिमा समितिले हिजो (असोज १२ गते) ललितपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले समितिले समस्याहरू समाधान गरिसकेपछि पुनः समस्या नदोहोरिने गरीे कम्पनीले काम गर्नुपर्ने बताए । अध्यक्ष सिलवालले बिमा कम्पनीले बैंकमा मात्र लगानी केन्द्रित नगरी लगानीका क्षेत्र परिवर्तन गर्नुपर्ने र दीर्घकालीनरूपमा राम्रो प्रतिफल प्राप्त हुने ठूला व्यवसायमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले नागरिकको आवश्यकता र मुलुकको भौगोलिक अवस्था अनुसार बीमालेख ल्याउनुपर्ने र कर्मचारीको दक्षता अभिवृद्धिका लागि तालिम संचालन गर्नुपर्ने बताए । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमाको पहुँच वृद्धिका लागि बिमा कम्पनीले गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बिमा, स्वास्थ्य बिमा लगायतका बिमा गर्नुपर्ने बताए ।

कार्यक्रममा बिमा समितिका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया