कोरोना महामारी पछिको उल्लासमय दसैँ

नेपालखोज २०७९ असोज १६ गते १०:००

दोधारा चाँदनी । कोरोना महामारीका दुई वर्ष नेपालीले धुमधामसँग दसैँ, तिहारलगायतका चाडपर्वहरु मनाउन पाएनन् । यस वर्ष भने कोरोना महामारीको त्रास हटिसकेकाले दसैँको चहलपहल बढेको छ ।

रोजगारीका लागि भारतमा रहेका नेपालीको पश्चिमी नाका गड्डाचौकीमा भीड लागेको छ । महेन्द्रनगरबाट दसैँ मनाउन जन्मथलो फर्किनेको बसपार्कमा भीड छ । बजारमा किनमेल गर्नेको चहलपहल पनि उत्तिकै छ । बैतडीको देहिमाण्डौका कविराज भट्ट दसैँ मनाउन दुई वर्षपछि जन्मथलो फर्किए ।

‘हरेक वर्ष दसैँ मनाउन म जन्मघर बैतडी जाने गर्थे कोरोना महामारीका कारण दुई वर्ष जान पाएन ।’ उनले भने, ‘यस पटक छोराछोरी परिवारसहित दसैँ मनाउन जन्मघर जाँदैछु ।’ उनले विगतका वर्षमा जस्तो त्रासका बीच चाडपर्व मनाउनुपर्ने बाध्यता यसपटक नरहेको बताए । ‘विगतमा बजारमा सरसामान किन्न जान डरै हुन्थ्यो, आफन्तकाहाँ टीकाटालो गर्न पनि त्रास हुन्थ्यो’, उनले भने, ‘कोरोनाका कारण मान्यजनको हातबाट जमरा र आशीर्वाद ग्रहण नगरेको पनि दुई वर्ष भयो ।’

उनले यस पटकको दसैँ उल्लासमय रहेकाले भव्यताका साथ मनाउने बताए । भीमदत्त नगरपालिका–६ ऐठपुरका सन्तोष पन्तले पनि कोरोना महामारीपछि साथी भाइसँग पिङ खेल्न र बजार घुमफिर गर्न पाएकामा खुशी छन् । महेन्द्रनगरस्थित कञ्चन समाजले हालेको पिङ खेल्न अहिले घुइँचो लागेको छ । ‘महेन्द्रनगर नजिकमा अरू ठाउँमा पिङ देख्न पाइएन यहाँ कञ्चन समाजले पिङ हालेको छ साथीहरुसँगै पिङ खेल्न आएको छु ।’ उनले भने, ‘दुई वर्ष त घरभित्रै थुनियो अहिले दसैँको रौनक छ सबैतिर ।’

घटस्थापनाका दिन राखिएको जमरा दशमीको दिन दुर्गादेवीको प्रसादका रूपमा लगाउने र टीकाका दिन परिवारका ज्येष्ठ सदस्यबाट टीका तथा जमरा लगाइने प्रचलन छ । दसैँ मनाउनकै लागि भारतबाट यो महिनामा मात्रै १३ हजार नागरिक स्वदेश फर्केका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार असोज १ देखि हालसम्म १३ हजार एक सय ६१ नेपाली गड्डाचौकी नाकाबाट स्वदेश फर्केका छन् । त्यसैगरी महेन्द्रनगरबाट सुदूरका पहाडी जिल्लाहरुमा पनि करिब २० हजार नागरिक बाहिरिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महेन्द्रनगरबाट सुदूरका पहाडी जिल्ला जाने यात्रुको चाप अत्यधिक छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दले पहाडी जिल्ला फर्किने यात्रुको चाप बढेकाले यात्रुको सुरक्षाका लागि ट्राफिक प्रहरीले यात्रुको यान्त्रिक जाँच गरिरहेको बताए।

प्रतिक्रिया