बहुउपयोगी ‘शेर्पा भाषा एप्स’ धर्मगुरुबाट सार्वजनिक गर्ने तयारी

नेपालखोज २०७९ असोज १६ गते १०:४२

काठमाडौं । शेर्पा भाषा सिकाई, प्रयोग र अनुवादलाई सहज बनाउने हेतुले निर्माण भएको ‘शेर्पा भाषा एप्स’ धर्मगुरुबाट सार्वजनिक गर्ने तयारी गरेका छन् । विश्व शेर्पा संघले राजधानीको एक होटलमा आयोजना हुने कार्यक्रमकाबीच एप्सलाई सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

अक्टोबर ८ अर्थात अशोज २२ गते साँझ एक कार्यक्रम गरी संघले भाषा एप्लिकेशनलाई सार्वजनिक गर्ने तयारी गरेको अध्यक्ष आङ दोर्जी लामा शेर्पाले जानकारी दिए । ‘प्रसिद्ध धर्मगुरुको बाहुलीबाट हामी एप्सलाई सार्वजनिक गर्दै छौं । निर्वाचन नजिकिँदो अवस्थामा रहेकाले धर्मगुरुबाट एप्सलाई सार्वजनिक गर्न लागेको हो ।’ अध्यक्ष शेर्पाले भने ‘राजनैतिक दलका नेताहरुको पनि सहभागिता रहन्छ ।’

विश्वभरका शेर्पाहरुलाई कार्यक्रममा जोड्ने तयारी भएको बताउँदै अध्यक्ष शेर्पाले जसका लागि भर्चुअल माध्यम प्रयोग गर्ने जानकारी दिए । अमेरिका, वेलायत, युरोप लगायत अन्य मुलुकका शेर्पाहरु जुममार्फत जोडिने र नेपालमा भने भौतिक उपस्थितीमा कार्यक्रम सम्पन्न गर्न लागेको जनाएको छ ।

कार्यक्रममा नेपाल शेर्पा संघको समन्वयत्मक भूमिका निर्वाह गर्ने र कार्यक्रम सफल बनाउन किदुग, विभिन्न संघसंस्था, भातृसंस्थाहरुलाई आग्रह गरेको संघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । शेर्पा भाषाको संरक्षण, विकास र विस्तारका लागि मोवाइल एप्लिकेशनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

भाषा सिक्न, प्रयोग गर्न, उच्चारणको शैली सिक्ने समेत एप्लिकेशनमा फिचरहरु राखिएको छ । त्यस्तै शेर्पाहरुको विवाह, जन्म लगायत सामाजिक संस्कारका विषयमा एप्लिकेशनमा पढ्न सकिन्छ । एप्सलाई सरल र सहज रुपमा प्रयोगका लागि उच्च प्रविधि अपनाइएको जनाएको छ । एप्सले युवाहरुलाई भाषा सिक्न सहज हुने र आम शेर्पा समुदायमा भाषा शैलीमा एकरुपता ल्याउन सहयोग पुग्ने सम्वन्ध पक्षको भनाइ छ । एप्स निर्माणका लागि विभिन्न देशमा बसोवास गर्ने शेर्पा समुदायहरुले आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया