शुक्रबार, वैशाख १४, २०८१

राष्ट्र बैंकले कात्तिक १ बाट चालु पुँजी कर्जासम्बन्धी संंशोधित व्यवस्था लागु गर्ने

नेपालखोज २०७९ असोज १६ गते १५:०१

काठमाडौं । नेपाल राष्ट्रे बैंकले यही कार्तिक एक गतेबाट चालु पुँजी सम्बन्धी कर्जा व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले पुर्वाधार बिकास बैंक र तिनै किसिमका वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी समेतले कार्यान्वयनमा ल्याउनु पर्ने गरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

पुर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले यही कार्तिक एक गते देखि चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ बमोजिम कर्जा प्रवाह गर्न निर्देशन दिएको हो । यो अनुसार अल्पकालीन तथा चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धी व्यवस्था अन्तर्गत पुर्वाधार विकास बैंकले ग्राहकहरु लागि लगानी गर्ने परियोजनाहरुको सञ्चालनको सन्दर्भमा आवश्यक हुने अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जा २०७९ कार्तिक १ गते देखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ बमोजिम प्रवाह गर्नुपर्ने छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ लागु हुनुपूर्व प्रदान गरिएका चालु पुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने छ । मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको भेरियन्स सम्बन्धी व्यवस्था मार्गदर्शन लागु भएको पहिलो वर्ष अनिवार्य हुनेछैन ।

चालु पुँजी सम्वन्धी एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान ब्यवस्था अनुसार भने अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जा सम्बन्धी व्यवस्था अन्र्तगत पूर्वाधार विकास बैंकले ग्राहकहरुका लागि लगानी गर्ने परियोजनाहरुको सञ्चालनको सन्दर्भमा आवश्यक हुने अल्पकालीन तथा चालु पूँजी प्रकृतिका कर्जा देहायका शर्तमा प्रवाह गर्न सक्नेछन् ।

परियोजनाको अनुमानित लागत शुरुमै विश्लेषण गरी आवधिक कर्जा र चालु पुँजी प्रकृतिका कर्जाको आवश्यकता र सीमा यकिन भएको हुनुपर्ने छ । निर्धारित सीमाको हदसम्म मात्र यस्तो चालु पुँजी प्रकृतिको कर्जा प्रवाह गर्न सकिने छ । आफूले लगानी गरेको परियोजनाहरुको लागि आवश्यक पर्ने मालसामान, उपकरण इत्यादी प्रतीतपत्र मार्फत आयात गर्न परियोजना कर्जाको स्वीकृत सीमाभित्र रही अल्पकालीन प्रकृतिका कर्जाहरु प्रवाह गर्न सक्ने छन् ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको हकमा पनि चालु पुँजी प्रकृतिका कर्जासम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । यो अनुसार बैंक तथा वित्तीय संस्थाले २०७९ कार्तिक १ गते देखि चालु पुँजी प्रकृतिका कर्जा प्रवाह, नवीकरण वा पुनरावलोकन गर्दा राष्ट्र बैंकबाट जारी चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ बमोजिम गर्नु पर्नेछ ।

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालु पुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने राष्ट्र बैंकको भनाई छ । मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा ७ मा भएको भेरियन्स म्बन्धी व्यवस्था मार्गदर्शन लागु भएको पहिलो वर्ष अनिवार्य हुने छैन ।

प्रतिक्रिया