नेटुवा समुदायलाई छैन दशैँको रौनक

नेपालखोज २०७९ असोज १७ गते १२:३५

कपिलवस्तु । वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्जन बढी फुसका घर ।

यी नेटुवा जाति दशकौँदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ प्रगतिनगरमा सो समुदायको बसोबास छ । नेपाली हिन्दूहरुको महान् पर्व वडादशैँको चहलपहल चारैतिर बढिरहँदा सो समुदायमा भने दशैँको उल्लास छैन ।

मधेसी समुदायको दलित जातिको रुपमा परिचित नेटुवाले विजयादशमी पर्व सुनेका छन् तर, अझै मनाएका भने छैनन् । सो समुदायमा वडादशैँको टीका नलगाए पनि नवदुर्गाभर हर्षौल्लास छाउने गरेको छ । सो समुदायमा भने चाडपर्वले रौनकले छुन सकेको छैन ।

उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादशैँ आफूहरुका लागि कुनै रौनकको पर्व नभएको बताए । सधैँ एक छाक कसरी खाने भन्ने पिरलोमा रहेका उनी भन्छन्, ‘एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैँ आउनु ।’ दशैँ कसरी मनाउने भन्ने गुनासोभन्दा बढी गुनासो राज्यसामु उनको छ । उनी भन्छन्, ‘हामीहरु राज्यबाटै सबैभन्दा बढी अपहेलित भएका छौँ ।’ सरकारसँग अल्पसङ्ख्यक जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो उनी भन्छन्, ‘राज्यले अझै सुनेको छैन ।’

यही माग लिएर तीन पटक सिंहदरबार धाएको उनले सुनाए । हातमा नागरिकताको प्रमाणपत्र बोकेर गृहमन्त्रालयको दैलो ढकढकाउन अधिकारको लागि पुगेका उनी बताछन् । पैतालीस वर्षीय दिलीप नेटुवाले राज्यले आफूहरुलाई अल्पसङ्ख्यक जातिको सूचिमा राखेर केही सहयोग गरे धेरै चाड खुसीमा बित्ने सुनाए । न गाँस, न बाँस, न जग्गा जमिन उनले भने, ‘हामी सबैभन्दा पीडित छौँ, राज्यले हाम्रो माग कहिल्यै सुनेन ।’

दसैँमा वरिपरिका अरु समुदायले राम्रो लाउने, मिठो खाने गरिरहँदा यहाँका सो समुदायका मानिस भने दिनभरि भिक्षा मागेर पेट पाल्ने योजनामा छन् । पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाले भिक्षा मागेर ज्यान पाल्दै आएका छन् । जिल्लामा झण्डै तीन सयको हारहारीमा नेटुवा जातिको बसोबास रहेको छ ।

प्रतिक्रिया