शुक्रबार, वैशाख १४, २०८१

आयोगले सार्वजनिक गर्‍यो स्वःघोषणाका सर्तहरु

नेपालखोज २०७९ असोज २१ गते १६:०३

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्नुपर्ने स्वःघोषणाका सर्तहरु सार्वजनिक गरेको छ ।

आयोगले शुक्रबार बिज्ञप्ति जारी गर्दै मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारीको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो ।

उक्त स्वघोषणमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानूनले अयोग्य नभएको हुनुपर्ने व्यवस्था रहेको छ ।

यसैगरी स्वघोषामा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ)/ प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ) बमोजिमको अयोग्यता नभएको हुनुपर्ने छ ।

आयोगका अनुसार स्वघोषणा गर्दा निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम कारवाही नभएको, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको लागि कुनै दलको बन्दसूचीमा नाम नरहेको हुनुपर्ने छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको लागि मनोनयन पत्र पेश नगरेको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको, संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी/पीआर) नलिएको, न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको, प्रचलित कानून बमोजिम कुनै सरकारी निकायलाई बुझाउनु पर्ने कर, राजस्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्नेप्रतिवद्ध रहेको रहेको हुनुपर्ने छ ।

स्वघोषणामा नेपालको संविधान, कानून र निर्वाचन ऐन, नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिवद्ध रहेको र म उम्मेदवार भएको पदमा निर्वाचित भएको अवस्थामा मैले मनोनयन पत्र साथ सिलबन्दी रूपमा पेश गरेको सम्पत्ति विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मेरो मञ्जुरी छ भनि उल्लेख गर्नुपर्ने छ ।

आयोगका अनुसार उपरोक्तानुसारको स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेश गर्नुपर्ने भएकोले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि यही मिति २०७९ असोज २३ गते बिहान १० बजेदेखि अपरान्ह छ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने भएकोले मनोनयन दर्ता गर्नु अगावै स्पष्ट भई स्वःघोषणापत्रमा दस्तखत गर्नु हुन जानकारी गराइन्छ । उम्मेदवारले आफै घोषणा गरेको विषयमा कुनै प्रश्न उठेमा सोको निरूपण गर्ने दायित्व उम्मेदवार स्वयंमको हुने व्यहोरा आयोगको बताएकाे छ ।

प्रतिक्रिया