बाँकेका अग्रवाल र खड्कालाई प्रदेश सभाको टिकट

नेपालखोज २०७९ असोज २३ गते १७:४०

बाँके । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा कार्यकर्ताहरू आज जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष अतहर हुसेन फारुकी र प्रदेश कमिटी सदस्य आदेश अग्रवालसहितका नेता–कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

अग्रवाल जनता समाजवादी पार्टीबाट बाँके निर्वाचन क्षेत्र नं २ (ख) का लागि उम्मेदवार पनि बनेका छन् । अग्रवाल उद्योग वाणिज्य संघ बाँकेका उपाध्यक्ष पनि हुन् ।

व्यवसायीहरूमाझ लोकप्रिय रहेका अग्रवालको पार्टी प्रवेशसँगै जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा क्षेत्र नं २ बाँकेका उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई थप बलियो भएका छन् ।

त्यस्तै माओवादी निकट मुस्लिम समुदायको नेतृत्व गरिरहेका फारुकीको पार्टी प्रवेशले नेकपा माओवादी केन्द्रलाई ठूलो झट्का लागेको छ । प्रदेश सभा सदस्यको टिकट दिने वाचा माओवादी केन्द्रले अन्तिम समयमा आएर तोडेपछि अग्रवाल टिकट सुरक्षित गर्दै जसपा प्रवेश गरेका हुन् ।

उता माओवादी केन्द्रका युवा नेता अम्मर बहादुर खड्काले पनि पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालको निर्वाचनमा अन्तिम समयमा आएर टिकट नपाएका खड्का माओवादीबाट दुई निर्वाचन क्षेत्रबाट सिफारिस भएका थिए ।

तर फेरि पनि अन्तिम समयमा आएर टिकट खोसिएपछि उनी जनता समाजवादी पार्टी प्रवेश गरेर निर्वाचन लड्न लागेका हुन् । खड्का जनता समाजवादी पार्टीबाट क्षेत्र नं १ (क) बाट उम्मेदवार बनेका छन् ।

यसैगरी माओवादी केन्द्रको मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य बाबु हलुवाई (मोहम्मद सलिम), पूर्व वडाध्यक्ष जुम्मन खाँ, माओवादी केन्द्रका स्थानीय नेताहरू सरिक सल्मानी, रसिद कसगर, मोहम्मद रहिस हल्वाइ, मोहम्मद जुनेद कादरी, मोहम्मद अली सिद्दिकी, नवाज इद्रिसी, पंकज कुमार गुप्ता, सेराज सल्मानी पनि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

त्यस्तै एमाले बाँकेको युवा संघ जिल्ला सहसंयोजक नोपेन्द्र धिताल, एमाले जिल्ला कमिटी सदस्य मोहन कुमार वली जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

राप्रपाबाट सोनु हलुवाइ र मोहम्मद सलिम हलुवाई पनि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सबैलाई जनता समाजवादी पार्टीका नेता एवम् प्रतिनिधि सभा क्षेत्र नं २ बाँकेका उम्मेदवार मोहम्मद इश्तियाक राई लगायतले फूलमाला लगाई स्वागत गरेका थिए ।

प्रतिक्रिया